images
images

विश्वकपको अन्तिम रात करोडौँको खेल, दुई पक्राउ


  • 332
    SHARES
  • २०७९ पौष ४ गते सोमबार

    विश्वकपको अन्तिम रात करोडौँको खेल, दुई पक्राउ

    काठमाडौं । सूर्यविनायक नगरपालिका–६ सूर्यविनायक निवासी सत्यराम लामाले फिफा विश्वकपको अन्तिम खेलको बाजीमा १ लाख रुपैयाँ गुमाए । गए राति भएको विश्वकपको विश्व विजेता अर्जेन्टिनाले उपाधि हात पार्दै विश्वकप जितिरहँदा नेपालमा भने करोडौँको बाजीमा हारजितको खेल भएको छ । 

    दुई राष्ट्र अर्जेन्टिना र फ्रान्सको अन्तिम खेलमा फ्रान्सको पक्षमा बाजी थापेका लामाले एकै रात १ लाख रुपैयाँ हारेका हुन् । यो हार त लामाको फाइनल खेलमा भएको हो । यसअघि पनि उहाँले विश्वकप सुरु भएदेखि नै पटक पटक विभिन्न देशको पक्षमा राखेको बाजीमा तीन लाख रुपैयाँ हारेका हुन् । 

    मध्यपुरथिमि नगरपालिका–५ राधेराधे बस्ने कमल खत्रीले विश्वकपको अन्तिम खेलमा ५० हजार रुपैयाँ बाजीमा हारे । राधेराधेको एक होटलमा विश्वकप हेर्दा आफ्नै सहकर्मीहरूसँग बाजी राखेका उनले विश्वकपको अवधिभर तीन लाख रुपैयाँ बाजीमै सिध्याए । 

    यी त उदाहरण मात्रै हुन्, आइतबार राति सम्पन्न फिफा विश्वकपमा खेल भइरहँदा भक्तपुरमा मात्रै बाजीमा करोडौँको हारजितको खेल भएको छ । त्यतिमात्रै होइन विश्वकपकै बहानामा अनलाइनमार्फत सट्टाबाजी लगाएर जुवा खेल्नेरखेलाउने दुई जनालाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ । 

    प्रहरीले भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथली बस्ने ३१ वर्षीय सुनिल चौगुठी र सूर्यविनायक नगरपालिका–८ आदर्शटोल बस्ने २५ वर्षीय अजय भेलेलाई आज पक्राउ गरेको हो । उनीहरूलाई प्रहरीले फिफा विश्वकप फुटबलका खेलहरूमा बेटिङ एप्लिकेसन वनएक्स बेट प्रयोग गरी अनलाइनमार्फत सट्टाबाजी खेल खेलाएको पाइएपछि पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । 

    महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले पक्राउ परेका दुवै जनालाई मुलुकी अपराधसंहिता दफा १२५ को उपदफा ४ बमोजिम सट्टाबाजी गर्न गराउन नहुने कसुरअन्तर्गत थप अनुसन्धान एवं कारबाही प्रक्रिया अगाडि बढाएको परिसरका सूचना अधिकृतसमेत रहेका प्रनाउ पाण्डेले जानकारी दिए । 

    उनीहरूले वनएक्स बेटमा सट्टाबाजी गराउन विगत एक वर्षदेखि सट्टाबाजी गर्ने एजेन्टका रूपमा कार्य गर्न थालेको अनुसन्धानका क्रममा खुलेको प्रहरीको भनाइ छ । 

    प्रहरीका अनुसार पक्राउ परेका चौगुठीको विभिन्न २३ वटा बैंकमा रहेको २५ वटा खाताहरूको कारोबारको विवरण माग गरिएकामा हालसम्म सातवटा बैंक खाताबाट विगत एक वर्षमा २ करोड ४५ लाख ७१ हजार ८ सय ९९ रुपैयाँको कारोबार भएको पाइएको छ । 

    भेलेको विभिन्न १९ वटा बैंक खाताको कारोबार माग गरिएकामा हालसम्म पाँचवटा खाताको विवरण प्राप्त भएको र ती खातामा ६० लाख रुपैयाँभन्दा बढी रकमको कारोबार भएको पाइएको छ । 

    खेलमा बढी रकम हारेका व्यक्तिको पहिचान गरी प्रलोभन देखाएर सट्टेबाजीको एजेन्ट बनाउने र सट्टेबाजीमा प्रयोग हुने ‘वान एक्स बेट’ मार्फत यसरी सट्टाबाजीको रकम सङ्कलन गर्ने कार्यमा चौगुठी र भेले सक्रिय रहेको पाइएको प्रहरीको भनाइ छ ।

     


    images
    images

    Logo