काठमाडौं । पावर शेयरिङमा काँग्रेसको एमालेकै मोडल दोहोर्याउने चाहना अघि सारेको छ । २०७४ सालमा एमालेले लिएका पदहरु आफूले लिने र अन्य पदहरु सत्ता साझेदार अन्य दलहरुलाई दिनेगरी अघि बढ्ने पक्षमा प्रधानमन्त्री शेरबहादुर देउवा देखिएका हुन् ।
देउवाले प्रचण्डसँग आधा आधा कार्यकाल प्रधानमन्त्री लिन सहमत भएको भन्दै आधा पहिलो कार्यकालमा आफू प्रधानमन्त्री हुने बताएका छन् । अर्को कार्यकालमा इमान्दारितापूर्वक सत्ता हस्तान्तरण गर्ने समेत उनको भनाइ छ ।
पहिलो दल भए पनि २०७४ सालको एमाले भन्दा अहिलेको काँग्रेसको अंकगािण्त कमजोर छ । २०७४ सालमा एमालेसँग १२१ सांसद थियो । अहिले काँग्रेससँग ८९ सांसद मात्रै छ । तर, माओवादी केन्द्र समेत ५३ सिटबाट खुम्चिएर ३२ सिटमा झर्दा उसको बार्गेनिङ क्षमता समेत घटेको छ ।
अहिलेको अवस्थामा एमाले, माओवादी लगायत कम्युनिष्ट पार्टीबिनै बहुमत जुट्नसक्ने देखिन्छ । यही अवस्थाको लाभ उठाउने पक्षमा काँग्रेस देखिएको छ । माओवादीको बार्गेनिङ पावर थप कमजोर बनाउन उसले साना दलहरुसँगको संवादलाई समेत समानान्तर रुपमा अघि बढाउँदै गएको छ ।



