images
images

सुनवल १३२ केभी सबस्टेसन सञ्चालनमा, परासी क्षेत्रको विद्युत आपूर्तिमा सुधार


  • 230
    SHARES
  • २०७९ पौष ३ गते आइतबार

    सुनवल १३२ केभी सबस्टेसन सञ्चालनमा, परासी क्षेत्रको विद्युत आपूर्तिमा सुधार

    काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका–७ मा निर्माण गरिएको सुनवल १३२ केभी सबस्टेसन सञ्चालनमा आएको छ । परासी क्षेत्रमा सञ्चालित तथा आगामी दिनमा खुल्ने उद्योगहरु र स्थानीयबासिन्दालाई पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत आपूर्तिका लागि सुनवल १३२ केभी सबस्टेसनको निर्माण सम्पन्न गरी  सञ्चालनमा ल्याइएको छ ।

    हाल सञ्चालनमा रहेको पूर्व–पश्चिम १३२ केभी प्रसारण लाइन सुनवल सबस्टेसनमा भित्रने (लुप इन) र बाहिरिने (लुप आउट) छ । यही १३२ केभी लाइनबाट सुनवल सबस्टेसनमा विद्युत आपूर्ति दिइएको छ । 

    सबस्टेसन सञ्चालनमा आएसँगै त्यस क्षेत्रमा सञ्चालित स्टील, सिमन्टलगायतका उद्योगहरु तथा स्थानीय उपभोक्ताहरुले पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत आपूर्ति पाएका छन् । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले परासी क्षेत्रका सिमन्ट, स्टीललगायतका ठूला उद्योगहरु र स्थानीय उपभोक्तालाई विद्युत आपूर्तिका लागि सुनवल सबस्टेसन मेरुदण्ड भएको बताए ।

    ‘अहिले बुटवल सबस्टेसनबाट लामो र कम क्षमताको ३३ केभी लाइनमार्फत आपूर्ति दिंदा सुनवल तथा परासी क्षेत्रका उपभोक्ताहरुबाट पर्याप्त विद्युत नपाएको, भोल्टेजको समस्या भएको, पटक–पटक ट्रिपिङ हुन जस्ता गुनासाहरु आउने गरेका थिए, बुटवल सबस्टेसन पनि माग धान्न नसक्ने अवस्थामा पुगी ओभरलोडेड थियो’, कार्यकारी निर्देशक घिसिङले भने ।

    ‘सुनवल सबस्टेसन सञ्चालनमा आएसँग बुटवल सबस्टेसनको चाप घटेको छ, सुनवल तथा परासी क्षेत्रको विद्युत आपूर्ति भरपर्दो र गुणस्तरीय भएको छ, उपभोक्ताहरुले मागेजति विद्युत पाउने छन् भने प्राविधिक चुहावटसमेत घट्ने छ ।’

    सबस्टेसनमा १३२/३३, ६३ एमभिएका २ वटा र १३२/११ केभी,२२.५ एमभिएको एकवटा पावर ट्रान्सफर्मरहरु रहेका छन् । सबस्टेसनबाट स्थानीय रुपमा विद्युत आपूर्तिका लागि निकालिने ३३ केभीका ७ वटा फिडरहरुमध्ये ३ वटा सञ्चालनमा ल्याइएको छ ।

    ३३ केभीका ३ वटा फिडरहरुमध्ये एउटाबाट सर्वोत्तम सिमन्ट तथा परासी बजार क्षेत्र, अर्कोबाट पाल्पा सिमेन्ट तथा रुपन्देहीको शित्तलनगर सबस्टेसन र लक्ष्मी स्टीलमा विद्युत आपूर्ति दिइएको प्राधिकरणको लुम्बिनी प्रादेशिक कार्यालय, बुटवलका निर्देशक नवराज ओझाले उल्लेख गरे ।अहिले सुनवल सबस्टेसनबाट त्यस क्षेत्रमा करिब २० मेगावाट विद्युत आपूर्ति भइरहेको छ । परासीतर्फ जाने बाँकी ३३ केभीका चारवटा र सबस्टेसनको वरिपरि विद्युत आपूर्तिका लागि ११ केभीका ४ वटा फिडरहरु निर्माणाधीन छन् ।

    औद्योगिक करिडोरमा विद्युत आपूर्तिको व्यवस्थापनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत प्राप्त भएको बजेट करिब ६९ करोड रुपैयाँमा सुनवल सबस्टेसन निर्माण गरिएको हो । सबस्टेसन निर्माणका लागि इनर्जी प्याक तथा सिग्माकोनको उपक्रमसँग गरिएको ठेक्का सम्झौता २४ कात्तिक २०७६ मा कार्यान्वयनमा आएको थियो ।  

    प्राधिकरणले परासी र रुपन्देहीको भैरहवा औद्योगिक करिडोरमा विद्युतको बढ्दो मागलाई सम्बोधन गर्न, प्रसारण क्षमता बृद्धि गर्न, प्राविधिक चुहावट घटाउन, भरपर्दो र गुणस्तरीय विद्युत आपूर्तिका लागि  सुनवल (भुमही)–हकुई १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण अगाडि बढाएको छ ।

    प्राधिकरणले भैरहवा क्षेत्रको विद्युत आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउन योगीकुटी (बुटवल)बाट मैनहियासम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइन र सबस्टेसनको निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको छ । मैनहिया सबस्टेसनबाट विद्युत दिन थालेपछि भैरहवा क्षेत्रको क्षेत्रको भोल्टेज सुधार भई आपूर्ति भरपर्दो र गुणस्तरीय भएको छ ।  


    images
    images

    Logo