काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नवनिर्वाचित सांसदहरुलाई बालुवाटार बोलाएका छन् । देउवाले आज दिउँसो तीन बजे पार्टीका सबै सांसदलाई बधाई तथा शुभकामनाका लागि भन्दै प्रधानमन्त्री निवासमा बोलाएका हुन ।
गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी कूल ८९ सिट जितेर सङ्घीय संसद्को सबैभन्दा ठूलो दल बनेको छ ।
सबैभन्दा ठूलो दलको हैसियतमा कांग्रेसले आफ्नै नेतृत्वमा सत्ता गठबन्धनको नयाँ सरकार गठनका लागि कसरत गरिरहेको छ । निर्वाचन आयोगले बिहिवार निर्वाचनको अन्तिम परिणाम राष्ट्रपति समक्ष बुझाएसँगै नयाँ सरकार गठनको चर्चा सुरु भएको छ ।