भक्तपुर । मध्यपुर थिमि नगरपालिकाका ज्येष्ठ नागरिकको स्वास्थ्य बिमा नगरपालिकाले गरिदिने भएको छ । नगरपालिकाले ६० देखि ७० वर्षसम्मका सबै ज्येष्ठ नागरिकको स्वास्थ्य बिमा गरिदिन लागेको हो ।
नगरप्रमुख सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा शुक्रवार बसेको बागमती प्रदेश विमा बोर्डका पदाधिकारी सहितको बैठकले त्यस्तो निर्णय गरेको हो । निर्णय अनुसार नगरपालिकाको ज्येष्ठ नागरिक स्वास्थ्य बिमा कार्यविधि २०७९ बमोजिम नगरका ६० देखी ७० वर्ष उमेर समूहका ज्येष्ठ नागरिकको स्वास्थ्य बिमा नगरपालिकाले आफ्नो तर्फबाट गरिदिने छ।
नगरप्रमुख श्रेष्ठका अनुसार नगरपालिकाको ज्येष्ठ नागरिक स्वास्थ्य बिमा कार्यविधि २०७९ बमोजिम ६० वर्ष पुरा भई ७० वर्ष ननाघेका ज्येष्ठ नागरिकको स्वास्थ्य बिमामा लाग्ने सम्पूर्ण रकम नगरपालिकाले व्यहोर्ने निर्णय भएको छ । यो निर्णय शुक्रवारदेखी नै लागू भएको नगर प्रमुख श्रेष्ठले जानकारी दिए ।
बैठकले ५ जनासम्म परिवार संख्या भएका ज्येष्ठ नागरिकका सबै सदस्यको बिमा वापतको प्रिमियम रकम समेत नगरपालिकाले व्यहोर्ने निर्णय गरेको छ । यसैगरी ज्येष्ठ नागरिकप्रति आश्रित बाबु आमा नभएका टुहुरा नाबालक रहेको हकमा परिवारका सदस्य सबैको स्वास्थ्य बिमाको प्रिमियम नगरपालिकाले तिरिदिने निर्णय भएको छ ।



