भक्तपुर । चाँगुनारायण नगरपालिकाका स्थानीयले जनप्रतिनिधि समक्ष विविध समस्या र सुझाव राखेका छन । नगरपालिकाले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा सम्पादन गरेका कार्यको सार्वजनिक परिक्षण गरी जनताको धारणा संकलन गर्न पहिलो पटक वडा नं १ को न्यौपाने गाउँमा आयोजना गरेको सार्वजनिक सुनुवाईका सहभागीले नगरपालिकाले सम्पादन गरेका सेवा अझ प्रभावकारी र सेवा ग्राहिमैत्री हुनुपर्ने सुझाए।
कार्यक्रममा वडा नं १ का स्थानीय माधवप्रसाद न्यौपाने नगरका वडाहरु भुगोलका आधारमा ठूलो भएका कारण सेवाग्रहीलाई सेवा प्राप्त गर्न समस्या भएको बताए । ठुला वडा विभाजन गरी सवा प्रवाहमा सहजिकरण गर्नु पर्ने उनको सुझाव थियो । न्यौपानेले जग्गाको कित्ताकाट बन्द हुंदा समस्या भएको, प्रहरी चौकी भवन निर्माण गर्नुपर्ने, स्वास्थ्यकर्मीले जनताको घरदैलोमा पुगेर स्वास्थ्य सेवा दिनुपर्ने माग गरेका थिए ।
कार्यक्रममा किसानले खेती गर्न मल नपाएको गुनासो गरेका थिए । कृषक समूह गठन गरी नगरपालिकाले किसानलाई सहुलियत दरमा मल उपलब्ध गराउनुपर्ने माग सहभागीले राखेका थिए । त्यसगरी सामूदायिक विद्यालयको पठनपाठनको गुणस्तर बढाउनुपर्ने, एक घर एक धाराको व्यवस्था हुनुपर्ने, सार्वजनिक यातायातको सेवा सुधार हुनुपर्ने, भुस्या कुकुर नियन्त्रण गर्नुपर्ने माग स्थानीयको थियो ।
स्थानीयले वीर अस्पताल र शहिद धर्मभक्त अंग प्रत्यारोपण केन्द्रका निर्माणको कार्य शुरु हुनुपर्नेलगायतका मागसमेत राखेका थिए ।स्थानीय तुलसीलाल बासुकलाले नगरका पुराना बस्तीलाई नमूना बस्तीको रुपमा विकास गरी नगरपालिकाले भवन निर्माणका सहुलियत दिनुपर्ने माग गरे ।
परम्परागत शैलीको घर निर्माणमा प्रोत्साहन दिनुपर्ने, नगरका पोखरी, पाटी, ढुंगेधाराको संरक्षण गर्नुपर्ने, सार्वजनिक शौचालयको व्यवस्था हुनुपर्ने, भवन निर्माण मापदण्ड पालना भए नभएको बारे प्रभावकारी रूपमा अनुगमन गर्नुपर्नेमा बासुकलाको जोड थियो ।कार्यक्रमका सहभागीले भुमिगत पानी उपयोगको नीति बनाउनुपर्ने, चाँगुनारायण मन्दिर संरक्षणमा विशेष ध्यान दिनुपर्ने लगायतका सुझाव राखेका थिए ।
जेष्ठ नागरिक मिलन केन्द्रको अनुदान नियमित गर्नुपर्ने मागगर्दै नवराज काफ्लेले खानेपानी उपभोक्ता समितिलाई नियमन गर्नुपर्ने, लक्षित वर्गका कार्यक्रममा लक्षित वर्गलाई नै सहभागिता गराउनुपर्नेमा जोड दिए । सूचनाको हकको कार्यान्वयन गर्दै वडा वडामा सूचना प्रवाह सहज हुनुपर्ने, नेपाल ईञ्जिनियरिङ कलेजलाई नगरपालिका मातहत व्यस्थितरुपमा सञ्चालन गर्नुपर्ने काफ्लेको सुझाव थियो ।
ज्येष्ठ नागरिक सूर्यकान्त गेलालले सामाजिक सुरक्षा भत्ता बैंकसम्म गएर लिनजानु पर्दा असहज भएको भन्दै घरघरमा पुर्याउने व्यवस्था हुनुपर्ने माग गरे । वडा नं ४ का जनार्दन केसीले बाटोको मापदण्ड स्पष्ट र सबैलाई समानरुपमा लागु गर्नुपर्ने बताउँदै सडक बिस्तार गर्न माग गरे । अर्का स्थानीय केशव खनालले पछिल्लो समय अव्यवस्थित जग्गा प्लानिङले नगर कुरूप बनेको, पुराना र परम्परागत पानीका मुहान तथा स्रोत नष्ट भएकाले पानीको समस्या विकराल बन्दै गएको बताए ।
पर्शुराम गेलालले मालपोत र नापी शाखामा जनताका काम सहज रूपमा नहुने समस्या रहेको गुनासो गरे ।नापीमा पुरानो नक्सा गायव बनाएको र विगतमा नगरपालिकामा समस्या लिएर जाँदा उल्टै धम्की आएको गेलालको गुनासो थियो ।
वडा नं २ का गणेश पौडेलले सहकारी दर्ता प्रक्रिया खुलाउनुपर्ने, केएमसी अस्पतालले विगतमा आईसीयुसहितको अस्पताल सञ्चालन गर्ने सहमति गरेपनि कार्यान्वयन नगरेको भन्दै नगरपालिकाको ध्यानाकर्षण गराएका थिए।वडा नं ४ का लिलामाया पौडेलले सुस्मा कोइराला ट्रष्ट पछाडीको कृषि सडक खोल्नुपर्ने, मनोहरा खोलाको पुलमा सिसी क्यामरा र प्रहरी पोष्टको व्यवस्था हुनुपर्ने माग गरिन ।
चाँगुनारायणका पुजारी चक्रधरानन्द राजोपाध्यायले चाँगुनारायणको पुरातात्त्विक महत्व अनुरुप स्थानीय तहले महत्व नदिएको, आयस्रोत नहुँदा परम्परागत पुजा, जात्रापर्व रोकिने अवस्था पुगेको बताए । पर्वपुजाको लागि गुठी संस्थानले दिने खर्च अपुग भएको, सम्पदा क्षेत्रमा जथाभावी निर्माण कार्य भएको उनको गुनासो थियो ।
वडा नं २ का हिम्मत सिं नेपालीले नगरका नदि नाला फोहोरले दुर्घन्धित हंदा महामारी फैलने खतरा बढेकाले समयमै ध्यान दिन अग्रह गरे । झौखेलका प्रेमबहादुरले भुस्याहा कुकुरको बिगबिग बढेकोले नियन्त्रण गर्नुपर्ने सुझाव दिए ।
त्यसैगरी अनिता न्यौपाने, उदय खड्कालगायतले नगरको वेभसाईट चुष्त दुरुष्त राख्नुपर्ने, खुल्ला क्षेत्रको व्यवस्था र बिस्तार गर्नुपर्ने, उपभोक्ता समिति वास्तविक उपभोक्ता समिति हुनुपर्ने, बेरोजगारीको समस्या समाधानका लागि उद्यमशिलता कार्यक्रमलाई जोड दिनुपर्ने लगायत सुझाव दिएका थिए।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरको सहजीकरणमा सम्पन्न कार्यक्रममा महासंघले चाँगुनारायण नगरपालिकाका विभिन्न कार्यालयमा स्थलगत अनुगमन गरी सेवाग्राहीले दिएका प्रतिक्रियाका आधारमा तयार गरिएको प्रतिबेदन प्रस्तुत गरेको थियो ।
नगरप्रमुख जीवन खत्रीले सर्वसाधारणबाट प्राप्त सुझाव र गुनासोलाई नगरका विषयत शाखा मार्फत क्रमशः कार्यान्वयन गर्दै जाने प्रतिवद्धता व्यक्त गरे । नेपाल ईञ्जिनियरिङ कलेजले विगतका निर्णय अनुसार कार्य नगरेको, हिसाव किताव पेश गर्न नसकेको, लेखा परिक्षण नभएकाले कलेजको बैठक नराखेको नगर प्रमुख खत्रीले स्पष्ट पारे ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हिरामणि सुवेदी, शिक्षा शाखा प्रमुख विरबहादुर खड्का, सूचना अधिकारी निलाकुमारी घिमिरेले स्थानीयले उठाएका गुनासोको संक्षिप्त जवाफ दिएका थिए ।
कार्यक्रममा नेपाली कांग्रेसका नगरसभापति शिवहरी केसी, नेकपा एमालेका नगर उपाध्यक्ष जयराम बास्तोला, नेकपा माओवादी केन्द्रका नरेश खड्काले विकासमा कार्यगत एकता, नीति निर्माणमा ऐक्यवद्धताको नीति अनुरुप नगरपालिकाले गर्ने कामका आधारमा सहकार्य गर्दै जाने बताए ।



