काठमाडौं। पछिल्लो पटक भारतबाट इन्धनको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई शुक्रबार पठाएको मुल्य घटाएर पठाएको हो ।
विश्व वजारमा मुल्य घटेका बारण आईओसीले मुल्य घटाएर पठाएको हो । पछिल्लो मुल्य अनुसार पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ ९० पैसा, डिजेल १२ रुपैयाँ ३१ पैसा तथा हवाई इन्धन १० रुपैयाँ ६१ पैसा घटेको छ ।
पछिल्लोपटक पनि मूल्यसूची घटेर आएकाले इन्धनको मूल्य केही घटाउने तयारी निगमले गरेको जनाइएको छ । निगमका बोर्ड अध्यक्ष तथा वाणिज्य तथा आपूर्ति सचिव देशबाहिर रहेकाले फर्किएपछि बोर्ड बैठक राखेर केही मूल्य घटाउने निगम स्रोतको भनाई छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै आईओसीले मूल्य घटाएर पठाएको हो ।
नयाँ मुल्य अनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर करिब २० रुपैयाँ, डिजेलमा करिब १३ रुपैयाँ नाफा छ । निगमले आईओसीलाई करिब २१ अर्ब रुपैयाँ बक्यौता बुझाउन बाँकी छ भने सरकारी ऋण रकम ७ अर्ब रुपैयाँ छ । विगतमा कच्चा तेलको मूल्य उच्च भएका बेला सोअनुरुप नेपालमा मूल्य समायोजन गर्न नसक्दा निगमको बक्यौता तथा ऋण रकम थपिएको थियो ।



