images
images

पाँच महिनामा बजेट खर्च २४ प्रतिशत, पुँजीगत खर्च ९ प्रतिशत मात्रै


  • 333
    SHARES
  • २०७९ पौष १ गते शुक्रबार

    पाँच महिनामा बजेट खर्च २४ प्रतिशत, पुँजीगत खर्च ९ प्रतिशत मात्रै

    काठमाडौं । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा सरकारको बजेट खर्च २४ दशमलव २६ प्रतिशत बराबर देखिएको छ ।

    चालु आर्थिक बर्षका लागि सरकारले कूल १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो । जसमध्ये मङ्सिर मसान्तसम्ममा ४ खर्ब ३५ अर्ब २१ करोड ११ लाख रुपैयाँ बराबर खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । 

    यस अवधिमा सरकारको पुँजीगत खर्च करिब ९ प्रतिशत बराबर मात्रै देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार मङ्सिर मसान्तसम्ममा सङ्घीय सरकारको पुँजीगत खर्च रु ३३ अर्ब ९९ करोड १६ लाख बराबर छ । 

    चालु आर्थिक वर्षका लागि सरकारले पुँजीगत शीर्षकमा ३ खर्ब ८० अर्ब ३८ करोड ४५ लाख रुपैयाँ बजाबर बजेट छुट्याएको छ । हालसम्मको पुँजीगत खर्च ८.९४ प्रतिशत बराबर हो । त्यस्तै चालु शीर्षकमा विनियोजित कूल ११ खर्ब ८३ अर्ब २३ करोड ५१ लाख रुपैयाँ बजेटमध्ये हालसम्म २९.९४ प्रतिशत खर्च भएको छ । जुन ३ खर्ब ५४ अर्ब २५ करोड ६९ लाख रुपैयाँ बराबर हो । 

    वित्तीय व्यवस्थापनतर्फ २ खर्ब ३० अर्ब २१ करोड ७७ लाख रुपैयाँ बजेट छुट्याइएकोमा मङ्सिर मसान्तसम्ममा ४६ अर्ब ९६ करोड २६ लाख रुपैयाँ बराबर खर्च भएको छ । जुन खर्च वित्तीय व्यवस्था शीर्षकमा विनियोजित बजेटको २०.४ प्रतिशत बराबर हो । यसरी हेर्दा हालसम्म सरकारको पुँजीगत खर्चभन्दा वित्तीय व्यवस्थापन शीर्षकमा भएको खर्च बढी देखिएको छ ।
     
    यही अवधिमा सरकारको राजस्व सङ्कलन २४.५२ प्रतिशत बराबर रहेको छ । चालु आर्थिक वर्षका लागि कूल १४ खर्ब ३ अर्ब १४ करोड ७० लाख रुपैयाँ आन्तरिक राजस्व उठाउने र ५५ अर्ब ४५ लाख ८३ करोड रुपैयाँ वैदेशिक अनुदान लिने सरकारको लक्ष्य रहेको छ । 

    हालसम्म आन्तरिक राजस्व सङ्कलन ३ खर्ब २६ अर्ब ८९ करोड रुपैयाँ अर्थात् वार्षिक लक्ष्यको २३.३ प्रतिशत बराबर छ । साथै  यस अवधिमा सरकारले ३ अर्ब ४१ करोड ५९ लाख रुपैयाँ अर्थात् वार्षिक लक्ष्यको ६.१६ प्रतिशत वैदेशिक अनुदान लिएको छ ।


    images
    images

    Logo