काठमाडौं । निर्वाचन प्रक्रिया सकिएसँगै पहिले संसद अधिवेशन बोलाउने कि सरकार गठन गर्ने भन्नेमा सरकार र राष्ट्रपतिको फरक फरक धारणा छ । राष्ट्रपति विद्यादेवी भण्डारी तत्काल नयाँ सरकार गठन गर्नुपर्छ भन्नेमा छिन् भने प्रधानमन्त्री शेरबहादुर देउवा भने पहिले संसद अधिवेशन बोलाउनुपर्ने पक्षमा छन् ।
संविधानको धारा ७६ ले निर्वाचनको अन्तिम मतपरिणाम प्राप्त भएको मितिले एक महिनाभित्र सरकार गठन गर्नुपर्ने भनेको छ । यस अन्तर्गत धारा ७६ (१) ले बहुमतप्राप्त दलको संसदीय दलको नेता प्रधानमन्त्री बन्ने व्यवस्था गरेको छ । धारा ७६ (२) ले भने बहुमत जुटाउने जुनसुकै प्रतिनिधिसभा सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नसक्ने व्यवस्था गरेको छ ।
अहिले संसदमा कुनै पनि पार्टीको एकल बहुमत नभएको कारणले धारा ७६ (२) आकर्षित हुन्छ । यसअनुसार सरकार बन्न संसदीय दलको निर्वाचन आवश्यक नभएकोले राष्ट्रपतिले पहिले नयाँ सरकार गठन गर्न चाहेकी हुन् ।
उता, प्रधानमन्त्री शेरबहादुर देउवा भने पहिले संसदीय दलको निर्वाचन भएर निर्वाचित भएपछि मात्रै सत्ता साझदारीको छलफल गर्ने तयारीमा छन् । अहिलै भागबण्डा गर्न थाल्दा अंगणित तलमाथि हुने र काँग्रेसको विधानले संसदीय दलको नेतालाई प्रधानमन्त्रीको रुपमा अघि सार्ने व्यवस्था गरेका कारण उनी केही कुर्न चाहन्छन् ।
संसदीय दलको निर्वाचन हुन संसद अधिवेशन आह्वान गर्नुपर्ने भएकोले देउवा पहिले अधिवेशन आह्वान गर्नुपर्ने पक्षमा छन् ।



