images
images

आयोगले गर्यो निर्वाचनको अन्तिम परिणाम सार्वजनिक


  • 325
    SHARES
  • २०७९ मंसिर २८ गते बुधबार

    आयोगले गर्यो  निर्वाचनको अन्तिम परिणाम सार्वजनिक

    काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको अन्तिम परिमाण सार्वजनिक गरेको छ । आयोगले बुधबार निर्वाचनको प्रत्यक्ष र समानुपातिकातर्फको निर्वाचन परिमाण सार्वजनिक गरेको हो । 

    प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १ सय ६५ र समानुपातिकतर्फ १ सय १० सिट सार्वजनिक गरेको छ भने प्रदेशसभा तर्फ ३ सय ३ र २ सय २० सिटको परिणाम सार्वजनिक गरेको छ ।

    आयोगले आज सार्वजनिक गरेको सो नतिजा बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गर्ने तयारी गरेको छ । सातै प्रदेशमा प्रदेश प्रमुखलाई प्रतिवेदन बुझाउन प्रमुख निर्वाचन आयुक्त थपलियाले जानकारी दिएका छन् । प्रतिवेदन राष्ट्रपति र प्रदेश प्रमुखसमक्ष बुझाएपछि राजपत्रमा प्रकाशित हुनेछ ।  

    आयोगले तयार गरेको निर्वाचन परिणाम प्रतिवेदन अनुसार प्रतिनिधि सभातर्फ २ सय ७५ र प्रदेश सभातर्फ ५ सय ५० जना गरी कूल ८ सय २५ जना निर्वाचित भएका छन् ।  जसमा प्रतिनिधि सभातर्फ पुरुष १८४ जना (६६ दशमलव  ९० प्रतिशत) र महिला ९१ जना (३३ दशमलव  १० प्रतिशत) निर्वाचित भएका छन् भने प्रदेश सभातर्फ पुरुष ३ सय ५० जना (६३ दशमलव ६४ प्रतिशत) र महिला २ सय जना  (३६ दशमलव  ३६ प्रतिशत) निर्वाचित भएका छन् । 

    प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि ८६ वटा राजनीतिक दल दर्ता भएकोमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ ६१ वटा राजनीतिक दल र समानुपातिक निर्वाचन प्रणालीतर्फ ४७ वटा राजनीतिक दल निर्वाचनमा सहभागी भएका थिए । 

    प्रतिनिधि सभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ महिला २ सय २५ र पुरुष २ हजार १ सय ८६ गरी २ हजार ४ सय ११ जनाको अन्तिम उम्मेदवारी कायम भएको थियो । सोही सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ महिला १ हजार १ सय ८७ र पुरुष १ हजार १२ गरी २ हजार १ सय ९९ जना उम्मेदवारको अन्तिम बन्द सूची कायम गरिएको थियो । 

    त्यसैगरी प्रदेश सभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि महिला २ सय ८०, पुरुष २ हजार ९ सय ४३ र अन्य १ गरी ३ हजार २ सय २४ जनाको अन्तिम उम्मेदवारी कायम भएको थियो भने सोही सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ महिला १ हजार ५ सय ११ र पुरुष २ हजार १ सय ९७ गरी कुल ३ हजार ७ सय ८ जना उम्मेदवारको अन्तिम बन्द सूची कायम गरिएको थियो । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीका लागि कूल उम्मेदवारको संख्या जम्मा ११ हजार ५ सय ४२ रहेका थिए । 

    प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभाको सदस्य निर्वाचन २०७९ सालको लागि महिला ८८ लाख ४७ हजार ५ सय ८९ जना, पुरुष ९१ लाख ४० हजार ८ सय ६ जना गरि कुल १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाता कायम रहेका थिए । अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिहरू मध्येबाट मतदाता नामावली ऐन २०७३ को दफा ३० बमोजिम तयार गरिएको अस्थायी मतदाता नामावलीमा ४ लाख ५० हजार मतदाता रहेकाे आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    त्यसैगरी, समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतको निर्वाचनमा कुनै राजनीतिक दलले कम्तीमा एक सिट प्राप्त नगरेमा त्यस्तो दलले राखेको धरौटी जफत हुने व्यवस्थाबमोजिम प्रतिनिधि सभातर्फ बन्दसूची पेश गर्ने ४७ दलमध्ये ४० वटा दल र प्रदेश सभातर्फ प्रदेश नं. १ मा ३०, मधेश प्रदेशमा २६, बागमती प्रदेशमा ३३, गण्डकीमा २४, लुम्बिनी प्रदेशमा २२, कर्णाली प्रदेशमा २२ र सुदूरपश्चिम प्रदेशमा २८ वटा दलको धरौटी जफत भएको छ ।

    राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५२ मा प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तीमा ३ प्रतिशत मत र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ १ सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने व्यवस्था बमोजिम यस निर्वाचनबाट ७ वटा राजनीतिक दलले राष्ट्रिय दलको मान्यता प्राप्त गरेका छन् ।

    प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० मा प्रदेश सभामा समानुपातिक निर्वाचन प्रणालीतर्फको कुल सदर मतको १ दशमलव ५ प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने दलको तर्फबाट मात्र उम्मेदवार निर्वाचित हुने व्यवस्था छ । सो व्यवस्था अनुसार प्रदेश नं। १ मा ६, मधेश प्रदेशमा १०, बागमती प्रदेशमा ७, गण्डकी प्रदेशमा ७, लुम्बिनी प्रदेशमा १०, कर्णाली प्रदेशमा ६ र सुदूरपश्चिम प्रदेशमा ६ वटा राजनीतिक दलको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेश सभामा प्रतिनिधित्व भएको छ ।

    प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा ३७ वटा राष्ट्रिय संस्थाका ७ हजार ५सय ५३ र २ वटा अन्तर्राष्ट्रिय संस्थाबाट १२ जना पर्यवेक्षकबाट निर्वाचन पर्यवेक्षण भएको थियो । यसैगरी, भारत, भुटान, बंगलादेश, माल्दिभ्स र दक्षिण कोरियाका निर्वाचन व्यवस्थापन गर्ने निकायका प्रमुख तथा पदाधिकारीहरू, जापानका विदेश राज्यमन्त्री र नेपालस्थित १८ वटा कुटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरूले समेत निर्वाचनको पर्यवेक्षण तथा अवलोकन गरेका थिए।

      

     


    images
    images

    Logo