काठमाडौं । काभ्रेपलाञ्चोकको बेथानचोकमा मङ्गलबार साँझ भएको बस दुर्घटनामा ज्यान गुमाएका १७ मध्ये १३ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी प्रमुख चक्रराज जोशीका अनुसार मृत्यु हुनेमा बनेपा नगरपालिका–११ का मात्रै ७ जना छन् । सो वडाकी ७९ वर्षीया निर्मला तामाङ, ११ वर्षीय योगेश तामाङ, ५० वर्षीय अंकुर तामाङ, ४३ वर्षीया हेमा तामाङ, १० वर्षीय पुष्कर तामाङ, २५ वर्षीया कोपिला तामाङ र ६ वर्षीया श्रेया तामाङको ज्यान गएको हो ।
त्यस्तै बनेपा नपा–१४ का ३९ वर्षीय राजकुमार तामाङ, २८ वर्षीया गीता श्रेष्ठ, मण्डनदेउपुर नपा–१ का ३७ वर्षीया जेली तामाङ, धुलिखेल नपा–११ का ३० वर्षीय बुद्ध तामाङ र बेथानचोक गाउँपालिका–५ की ३२ वर्षीया मञ्जु तामाङको पनि सो बस दुर्घटनामा मृत्यु भएको छ ।
यस्तै बस चालक ललितपुरको महाँकाल–४ घर भई हाल पनौती नपा–४ बस्ने २२ वर्षीय सन्तोष तिमल्सिनाको पनि दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकमध्ये अब चार जनाको नाम खुल्न बाँकी छ । घाइतेमध्ये केहिको अवस्था चिन्ताजनक रहेको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार बस तिव्र गतिमा चलाएका कारण दुर्घटना भएको हो । बस सडक मोडको भित्तामा ठोक्किएपछि दुर्घटनाग्रस्त भएको थियो । बसमा ३९ यात्रु सवार थिए । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार घाइतेको धुलिखेल अस्पताल, बनेपास्थित शिर ममोरियल अस्पताल, भक्तपुरको मध्यपुर अस्पताल, वीर अस्पताल, न्यूरो अस्पताल बाँसबारीलगायतमा उपचार भइरहेको छ ।
बा३ख ४३८५ नम्बरको रिजर्भ बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । बनेपा नगरपालिका–११ का कुमार तामाङको नातिको व्रतबन्धमा बेथानचोक गाउँपालिका–५ च्याल्टी पुगेर फर्किंदै गरेको बस दुर्घटनामा परेको जनाइएको छ।



