काठमाडौं । क्रिश्चियन उम्मेदवारलाई समानुपातिक सांसद बनाएपछि भएको विरोधबारे राप्रपाले प्रष्टीकरण दिएको छ । हिन्दु राष्ट्रको एजेण्डा बोकेको राप्रपाले धादिङकी बनिा लामालाई प्रतिनिधिसभाको समानुपातिकमा पारेपछि विरोध सुरु भएको थियो ।
राप्रपाका प्रवक्ता मोहन कुमार श्रेष्ठले लामाबारे ९ बुँदामा प्रष्टीकरण दिएका हुन् । उनले लामा १ दशकदेखि हिन्दू राष्ट्रका लागि संघर्ष गर्दै आएको, त्यही एजेण्डा लिएर धादिङको रुबीभ्याली गाउँपालिकामा बिजयी भएको, पार्टीको एजेण्डामा प्रतिवद्ध भएको, अहिलेसम्म हिन्दु राष्ट्र विरोधीलाई भोट नहालेको जस्ता प्रष्टीकरण दिएका छन् ।
लामाले सानैदेखि बाबुआमा गुमाएको कारणले उनलाई क्रिष्चियन संस्थाले हुर्काएको र सोही कारण उनी क्रिश्चियन भएको समेत श्रेष्ठले बताए । राप्रपाले हिन्दु राष्ट्रको एजेण्डा लिए पनि पार्टीमा सबै धर्मका व्यक्तिको सहभागिता हुनसक्ने समेत उनले बताए ।



