काठमाडौं । निर्वाचन आयोगले समानुपातिक सांसद्को नामावली सच्याउन २ दिनको समय दिएको छ । दलहरुले बुझाएको समानुपातिक सांसदहरुको नमिलेको नाम सच्याएर बुझाउन आयोगले आइतबार र सोमबार दुई दिनको समय दिएको हो ।
आयोगको तालिका अनुसार दलहरुले शनिबार सामानुपातिक तर्फको बन्दसूचीमा उल्लेख भएका नामावली निर्वाचन आयोगमा बुझाएका थिए । ती नामावली भित्रैबाट दलहरुले समानुपातिक सांसदको सूची बुझाउनुपर्छ । त्यसपछि आयोगले सोमबारसम्म समानुपातिकतर्फका सांसदहरू पनि निर्वाचित भएको घोषणा गरिने छ ।
निर्वाचन आयोगका अनुुसार नामावलीमा आजैबाट छानबिन सुरु भएको छ । हालै सम्पन्न निर्वाचनमा संघीय संसदमा नेकपा एमालेले ३४ सिट, नेपाली काँग्रेसले ३२ सिट, माओवादी केन्द्रले १४ सिट, राष्ट्रिय स्वतन्त्र पार्टीले १३ सिट, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ सिट, जनता समाजवादी पार्टी र जनमत पार्टीले ५/५ सिटमा सांसद्हरुको नामावली बुझाएका छन् ।
अबको प्रक्रिया के हो त ?
निर्वाचन आयोगले समानुपातिक मतगणना सम्पन्न गरेपछि समानुपातिकतर्फको उम्मेदवार निर्वाचित गर्न दलहरूलाई बिहीबार तीन दिनको समय प्रदान गरेको थियो । शनिबारसम्म सबै दलले समानुपातिकतर्फको उम्मेदवार निर्वाचित गर्न नामावली बुझाएको आयोगले जनाएको छ ।
आयोगले आज उक्त नामावली उपर जाँच गर्ने, सबै क्लष्टर तथा महिलाको सङ्ख्या पुगे र नपुगेको सम्बन्धमा हेर्ने छ। दलहरूको समानुपातिक सूची केन्द्र र प्रदेश गरी आठ ठाउँमा छ । आयोगले आवश्यक जाँच र दलहरूको तयारीअनुसार सबै कार्य सम्पन्न गरी सम्भवतः सोमबार समानुपातिक सांसदको नामावली सार्वजनिक गर्ने जनाएको छ ।
यी सबै प्रक्रिया सम्पन्न गरी यही मङ्सिर अन्तिमसम्ममा प्रतिनिधिसभाको राष्ट्रपतिलाई र प्रदेशमा सम्बन्धित प्रदेश प्रमुखलाई निर्वाचनको विवरण बुझाउने आयोगको लक्ष्य रहेको छ । त्यसपछि नयाँ सरकार गठन र नयाँ संसद् बैठकको तयारी प्रारम्भ हुनेछ ।



