काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाका लागि ३२ जना समानुपातिक सांसदको सूची टुङ्गो लगएको छ । शनिबार बिहान पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रतिनिधिसभाका लागि ३२ जना समानुपातिक सांसदको टुङगो लगाएको हो ।
प्रतिनिधिसभासँगै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको नाम टुंगिएको छ । प्रदेश १, मधेस, बाग्मती र लुम्बिनी प्रदेशको नाममा भने सहमति भइसकेको छैन ।संघीय संसद्मा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व अनिवार्य भएकाले कांग्रेसले समानुपातिकबाट ३ जना पुरुषलाई मात्र सांसद बनाउने निर्णय गरेको छ ।
खसआर्यको पहिलो नम्बर रहेका डा.प्रकाशशरण महत, मधेसीको पहिलो नम्बरमा रहेका विमलेन्द्र निधि र दलितको पहिलो नम्बरमा रहेका जीवन परियारलाई सांसद बनाउने निर्णय भएको छ।
त्यस्तै, आदिवासी जनजातितर्फ गोपालमान श्रेष्ठ, मधेसी पुरुषतर्फ विमलेन्द्र निधि र दलिततर्फ सहमहामन्त्री जीवन परियार थिए ।महिला समानुपातिकतर्फ खस आर्यबाट अम्बिका बस्नेत, सरिता प्रसाईं, आरजु राणा देउवा, ईश्वरी न्यौपाने, प्रतिमा गौतम, मञ्जु खाँण, रमा कोइराला पौड्याल, कान्तिका सेजुवाल, मैना रावललाई छानेको छ ।
आदिवासी जनजातितर्फ सरस्वती बजिमय, लिलादेवी वोखिम (लिम्बू), सीताकुमारी राना, सुशीला थिङ, सपना राजभण्डारी, माया राई, कुसुम थापामगर, मनोरमा शेरचन, अञ्जनी श्रेष्ठको नाम टुंगो लागेको छ।
दलितबाट शान्ति विक, रुपा विक, सीता मिजार, आशा विक चयन भएका छन् । यस्तै, मुस्लिमबाट जावेदा खातुन जागा, थारुबाट कल्पना चौधरी र बिनाकुमारी थनेत सांसदका लागि छानिएका छन् ।



