काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेड एकापसमा गाभिने (मर्जर) सम्बन्धी अन्तिम स्वीकृति प्रदान गर्दै ग्लोबल आइएमई बैंकको १६औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । साधारणसभाले ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेड गाभ्ने गाभिने ९मर्र्जर० सम्बन्धमा सञ्चालक समितिका तर्फबाट प्रस्तुत प्रतिवेदनमाथि छलफल गरी सर्वसम्मतरुपमा पारित गरेको हो ।
गाभिने प्रयोजनका लागि मूल्याङ्कनकर्ताबाट प्राप्त चलरअचल सम्पत्ति दायित्व तथा कारोबारको मूल्याङ्कन प्रतिवेदन (डिडिए) का आधारमा निर्धारण गरिएको शेयर स्वाप अनुपात एक बराबर एक रहने गरी स्वीकृत गरेको छ । साधारणसभाले बैकको अधिकृत पूँजी २५ अर्ब रुपैयाँलाई वृद्धि गरी ५० अर्ब रुपैयाँ पु¥याउने प्रस्तावलाई समेत पारित गरेको छ ।
साधारणसभामा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन तथा एकीकृत वित्तीय विवरण पारित गर्नाका साथै आर्थिक वर्ष २०७८÷७९ को कूल मुनाफाबाट बैंकले आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको तीन प्रतिशत बोनस शेयर र १० दशमलव छ प्रतिशत नगद लाभांश गरी जम्मा १३ दशमलव छ प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गरेको छ ।
बैंकले आर्थिक वर्ष २०७८÷७९ मा सञ्चालन मुनाफा ७ अर्ब १८ करोड रुपैयाँ र कर पछिको मुनाफा ४ अर्ब ९५ करोड रुपैयाँ आर्जन गरेको थियो । प्रस्तावित बोनस शेयर वितरणपश्चात् बैंकको चुक्ता पूँजी ४ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ ।
साधारणसभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै बैंकका अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंक नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकद्वारा घोषित नीतिहरुको परिपालना गर्दै आफ्ना शेयरधनीहरुलाई उचित लाभांश प्रदान गर्न कटिबद्ध रहेको बताए। उनले बैंकले आगामी दिनमा आफ्नो व्यावसायिक रणनीतिक योजनाअनुरुप व्यवसाय विस्तारका अन्य क्षेत्रमा समेत सन्तुलित वृद्धि गर्दै जाने बताए ।
आर्थिक बर्ष २०७८÷७९ मा बैंकको खुद ब्याज आम्दानीतर्फ गत वर्षभन्दा १अर्ब १५ करोड रुपैयाँले वृद्धि भएको छ । बैंकको खुद मुनाफामा गत वर्षको तुलनामा १२.५९ प्रतिशतले वृद्धि भई ४ अर्ब ९५ करोड रुपैयाँ कायम भएको छ । हाल बैंकले २ खर्ब ८९ अर्ब रुपैयाँभन्दा बढी निक्षेप सङ्कलन गर्नाका साथै २ खर्ब ७३ अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गरेको छ । बैंकले करिब ३० लाख ग्राहकलाई प्रत्यक्ष सेवा प्रदान गर्दै आएको छ ।



