काठमाडौं । मतदाताको मन कतिबेला बदलिन्छ र त्यसले राजनीतिमा कतिबेला फेरबदल ल्याइदिन्छ भन्ने कुरा मतगणना भएपछि मात्रै थाहा हुँदोरहेछ । त्यसको सामान्य झलक निर्वाचन अगाडि नै देखिने भए पनि खास स्वरुप भने मतगणनामा देखिन्छ ।
राजनीतिक दल र तिनले आफ्नो ठानेको क्षेत्रमा समेत पत्यारै नलाग्ने खालका नतिजा यसपटकको निर्वाचनमा देखिएको छ । सोच्दै नसोचेका उम्मेदवारले लोभलाग्दो सफलता हासिल गरेका छन् । मतदाताको स्वभाव र चाहनालाई ख्याल गर्ने उम्मेदवारले जित निकालेका छन् भने परम्परागत रुपमा निर्वाचनको समयमा मात्रै पुगेका उम्मेदवारले नराम्रो पराजय भोग्नुपरेको छ ।
प्रतिनिधिसभा र प्रदेशसभाको यस पटकको निर्वाचनमार्फत उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फ सात स्थानमा जीत निकालेको छ । राजनीतिमा दिग्गज ठानिएका र लामो समयदेखि नेपाली राजनीतिमा स्थापित हस्तीलाई समेत सो पार्टीका उम्मेदवारले पराजित गरिदिएका छन् । त्यतिमात्रै नभइ कतिपय उम्मेदवारले त बहालवाला मन्त्रीलाई हराएर नयाँ इतिहास कायम गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारसँग पराजित हुनेमा ललितपुर क्षेत्र नं ३ बाट बहालवाला ऊर्जा, जलस्रोत तथा सिञ्चाइमन्त्री पम्फा भुसाल, काठमाडौँ क्षेत्र नं ८ मा संस्कति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ र चितवन क्षेत्र नं २ मा राज्यमन्त्री उमेश श्रेष्ठ पराजित भएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट काठमाडौं क्षेत्र नं ६ मा शिशिर खनाल १४ हजार २ सय ४ मतसहित निर्वाचित हुँदा नेकपा (एमाले)का उम्मेदावर सर्वेन्द्र खनालले ८ हजार ९ सय ११ मत प्राप्त गरी उपविजेतामा सीमित रहेका छन् । सोही क्षेत्रबाट उम्मेदवार रहनुभएका सत्तागठबन्धनका उम्मेदवार तथा पूर्वमन्त्री भीमसेनदास प्रधानले तेस्रो स्थानमा चित्त बुझाए । प्रधानले ८ हजार ८ सय ५ मत प्राप्त गरे।
चितवन क्षेत्र नं १ लाई प्रमुख राजनीतिक दलले आफ्नो प्रभाव रहेको क्षेत्रका रुपमा चर्चा गर्ने गरेका थिए । सोही क्षेत्रमा नेपाली समाजमा प्रचलित लोकोक्ति ‘नपत्याउने खोला’ ले बगाउँछ भने जस्तै भयो । राष्ट्रिय योजना आयोगका उपाध्यक्षबाट राजीनामा दिएर चुनावी मैदानमा खडा भएका छन् भने विश्वनाथ पौडेल पराजित भएका हुन् ।
कांग्रेसका उम्मेदवार पौडेलमात्रै नभइ पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले पनि नमिठो पराजय भोग्नुपर्यो । स्वतन्त्र पार्टीका हरि ढकालले ३४ हजार १ सय ८९ मत प्राप्त गरी विजयी हुँदा कांग्रेसका पौडेलले २४ हजार ९ सय ९० मत र एमालेका उपाध्यक्षसमेत रहनुभएका पाण्डेले २६ हजार ६ सय ८ मत प्राप्त गरे ।
काठमाडौं क्षेत्र नं ७ मा त्यस्तै भयो । निर्वाचन अगाडि नामै नसुनिएका गणेश पराजुली आठ हजार सात सय ४३ मत प्राप्त गरी विजयी भएका छन् । स्वतन्त्र पार्टीका पराजुली विजय हुँदा एमालेका श्यामकुमार घिमिरेले ६ हजार ८ सय र माओवादी केन्द्रका मानुषी यमी भट्टराईले ६ हजार ६३ मत प्राप्त गरे ।
काठमाडौंं क्षेत्र नं ८ मा अप्रत्यासित नतिजा यसपटकको निर्वाचनमा आयो । बहालवालामन्त्री नै पराजित हुनुपर्यो । स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले १० हजार १ सय १२ मत प्राप्त गरी विजयी हुँदा स्थानीय तहको निर्वाचनताका चर्चित उम्मेदवार हाम्रो नेपाली पार्टीका सुमन सायमीले ६ हजार १ सय ७९ मत प्राप्त गरे । सो क्षेत्रमा एमालेका उम्मेदवार शिवसुन्दर राजवैद्यले ३ हजार ८ सय ९१ मत प्राप्त गरे । बहालवाला मन्त्रीसमेत रहनुभएका मन्त्री श्रेष्ठ तेस्रो स्थानमा रही ४ हजार ८ सय ८१ मत प्राप्त गरे ।
स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका रवि लामिछानेले ४९ हजार २ सय ६४ मत ल्याई निर्वाचित हुँदा उनका प्रतिस्पर्धीसमेत रहनुभएका कांग्रेसका श्रेष्ठले १४ हजार ९ सय ८३ मत र एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६ सय ४७ मत प्राप्त गरे ।
पूर्व सभामुख ओनसरी घर्तीलाई चौँथो स्थानमा सीमित गरेर काठमाडौं क्षेत्र नं २ बाट निर्वाचित हुनेमा पर्नुहुन्छ स्वतन्त्र पार्टीकै सोविता गौतम । उनले १५ हजार २ सय ३८ मत प्राप्त गर्दा एमालेका मणिराम फुँयालले ११ हजार ५ सय ६६ मत, राप्रपाका कुन्तीदेवी पोखरेलले ११ हजार २४ मत र माओवादीका उम्मेदवार घर्तीले ९ हजार ४ सय ५९ मत प्राप्त गरे ।
ललितपुर क्षेत्र नं ३ बाट विजयी तोसिमा कार्कीले ३१ हजार १ सय ३६ मत प्राप्त गरे । दोस्रो स्थानमा एमालेका अमृत खड्काले १२ हजार ९ सय ६३ मत र तेस्रो स्थानमा चित्त बुझाउँदै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री समेत रहनुभएका भुसालले ८ हजार ७ सय ६९ मत प्राप्त गरे । समानुपातिकतर्फ स्वतन्त्र पार्टीले अपराह्न ३ बजेसम्म कूल ९ लाख ५८ हजार ७ सय ३ मत प्राप्त गरेको छ ।



