भक्तपुर । समानुपातिक तर्फ प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा भक्तपुरमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) पहिलो दल बनेको छ । नेपाली कांग्रेसलाई पछि पार्दै नेकपा एमाले दोस्रो भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चौंथो ठूलो दल बनेको छ ।
प्रतिनिधि सभाका दुई वटा निर्वाचन क्षेत्र रहेको भक्तपुरमा नेमकिपाले १ नं. क्षेत्रबाट ३२ हजार ९ सय ४ र २ नंम्वर क्षेत्र बाट ७ हजार ८ सय ६३ मत गरि ४० हजार ७ सय ६७ मत पाएको छ । नेमकिपाले प्रत्यक्ष तर्फबाट क्षेत्र नं. १ को प्रतिनिधि सभा सदस्य र प्रदेश सभा १ (२) को सदस्यमा विजय हासिल गरेको थियो ।
यस्तै प्रदेश सभामा एक सदस्य मात्र जितेको नेकपा एमालेले समानुपातिक तर्फ २६ हजार ७० मत प्राप्त गरी जिल्लामा दोस्रो ठूलो दल बनेको छ । एमालेले क्षेत्र नं. १ बाट ८ हजार १ सय ९४ र क्षेत्र नं. २ बाट १७ हजार ८ सय ७६ मत प्राप्त गरेको छ ।
जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भिमबहादुर बिसीका अनुसार नेपाली कांग्रेसले २३ हजार ७ सय ६९ र रास्वपाले २३ हजार ६ मत ल्याई क्रमशः तेस्रो र चौंथो दल बनेका छन । प्रत्यक्षमा प्रतिनिधि सभा २ नं क्षेत्र र प्रदेस सभाको एउटा सदस्यमा जित हात पारेको कांग्रेसले तुलनात्मक रूपममा समानुपातिकमा कम मत पाएको छ ।
कांग्रेसले क्षेत्र नं. १ बाट ८ हजार ८ सय ७५ र क्षेत्र नं। २ बाट १४ हजार ८ सय ९४ मत प्राप्त गरेको छ ।रास्वपाले क्षेत्र नं. १ बाट ११ हजार १ सय १० र क्षेत्र नं. २ बाट ११ हजार ८ सय ९६ मत प्राप्त गरेको छ । यस्तै राप्रपा ११ हजार ३ सय ९२ मत पाउँदै पाँचौं ठूलो दल बनेको छ ।
उसले क्षेत्र नं. १ बाट ५ हजार ९ सय ३ र क्षेत्र नं. २ बाट ५ हजार ४ सय ८९ मत प्राप्त गरेको छ । नेकपा माओवादी केन्द्रले ४ हजार ९८ मत प्राप्त गरी छैंटौं दल बनेको छ भने नेकपा एकिकृत समाजवादीले २ हजार १ सय ५२ मत प्राप्त गरेको छ ।



