काठमाडौं । सुनसरी २ मा भीम आचार्यको जित सुनिश्चित भएको छ । नेकपा एमालेका स्थायी कमिटी सदस्य भीम प्रसाद आचार्य सुनसरी २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुने निश्चित भएको हो ।
२६ सय मत गणना बाँकी रहँदा ५ हजार बढीले अग्रता लिएपछि आचार्यको जित सुनिश्चित भएको हो । आचार्यले ३० हजार ८९७ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका निवर्तमान सांसद सिताराम मेहताले २५ हजार ४०४ र रास्वपाका लालविक्रम थापाले १८ हजार ७८५ मत पाएका छन् ।
२०६४ र २०७० सालको निर्वाचनमा एमालेबाट तत्कालीन क्षेत्र नम्बर ६ बाट चुनाव जितेका आचार्य यस पटक २ नम्बरमा आएका थिए । अघिल्लो पटक प्रदेश सभा सदस्य हुँदै मुख्यमन्त्री बनेका आचार्य १० वर्षपछि पुनः संघीय संसदमा फर्किन लागेका हुन् ।
सुनसरीका क्षेत्र नम्बर २ का दुवै प्रदेश सभामा पनि एमालेले जितेर गठबन्धनलाई क्लिनस्वीप गरेको छ । प्रदेश सभा १ बाट एमाले जिल्ला अध्यक्ष रेवती भण्डारी र २ बाट रामप्रसाद मेहता निर्वाचित भएका छन् ।



