काठमाडौं । नुवाकोटको निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसका उम्मेदवार अजुर्ननरसिंह केसी निर्वाचित भएका छन् ।
सत्तारुढ पाँच दलीय लोकतान्त्रिक–वाम गठबन्धनको साझा उम्मेदवारको रुपमा रहेका कांग्रेसका उम्मेदवार केसीले २८ हजार १ सय ७ मत ल्याएर विजयी भएका हुन् ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शुमन बिक्रम पाण्डेलाई पराजित गर्दै केसी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । पाण्डेले १६ हजार ४ सय ७७ र नेकपा (एमाले)का उम्मेदवार नारायणप्रसाद खतिवडाले १५ हजार ५ सय ६१ मत ल्याए ।
यसअघि २०७४ साल को निर्वाचनमा एमालेका उम्मेदवार खतिवडासँग दश हजार मतान्तरले पराजित भएका केसी यो पटक खतिवडाभन्दा १२ हजार पाँच सय ६४ मतान्तरले निर्वाचित भएका हु्न ।
यही मङ्सिर ४ मा भएको निर्वाचनमा खसेको कूल ७७ हजार ४ मतको आज बिहान सम्पन्न गणनाको नतिजाअनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार झनक प्याकुरेलले १ हजार ५ सय ७१ मत ल्याएका छन् भने चुनावी प्रतिस्पर्धामा ३ स्वतन्त्रसहित ११ मध्ये अन्य उम्मेदवारको मत १ हजारभन्दा कम रहेको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिए । यस निर्वाचन क्षेत्रको प्रदेश–२ को गणना जारी छ ।



