images
images

तीव्र गतिमा सवारी चलाउने चालकले एक घण्टा सचेतना कक्षा लिनुपर्ने


  • 491
    SHARES
  • २०७९ मंसिर ९ गते शुक्रबार

    तीव्र गतिमा सवारी चलाउने चालकले एक घण्टा सचेतना कक्षा लिनुपर्ने

    काठमाडौं । तीव्र गतिमा सवारीसाधन चलाउने चालकले अब अनिवार्य रुपमा ट्राफिक सचेतना कक्षा लिनुपर्ने भएको छ ।

    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गरी आगामी मङ्सिर १५ गतेदेखि तीव्र गतिमा सवारीसाधन चलाउने चालकले अनिवार्य रुपमा एक घण्टा ट्राफिक सचेतना कक्षा लिनुपर्ने जानकारी दिएको हो । 

    पत्रकार सम्मेलनमा बोल्दै कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक नियमअनुसार कारबाही गर्दै एक घण्टाको सचेतना कक्षा लिएपछि मात्र छोडिने जानकारी दिए । “काठमाडौँ उपत्यकामा हुने धेरै सवारी दुर्घटना तीव्र गतिका कारण हुने गरेको पाइएको छ, उपत्यकाभित्रको सवारी दुर्घटनालाई न्यूनीकरण गर्न उक्त अभियान सञ्चालन गर्न लागेका हौँ”, उनले भने । 

    ट्राफिक प्रहरीले यसअघि मादक पदार्थ सेवन गरेर चलाउने, लेन अनुशासन पालना नगर्ने र रातो बत्ति क्रस गर्नेलाई मात्रै सचेतना कक्षा  लिँदै आएको थियो ।काठमाडौँ उपत्यकामा आर्थिक बर्ष २०७८/०७९ मा तीव्र गतिका कारण ३ हजार ५ सय ४३ सवारी दुर्घटना भएको सो कार्यालयले जनाएको छ ।

    प्रवक्ता भट्टले चालू आर्थिक बर्षमा सडकमा गुडिरहेका यान्त्रिक अवस्था ठीक नभएका ३ सय ५२ सवारीसाधनलाई परीक्षण तथा कारबाहीका लागि यातायात व्यवस्था विभागमा पठाइएको बताए । ठूलो ध्वनि निकाल्ने १८ वटा मोटरसाइकललाई पनि नियन्त्रणमा लिएर परीक्षण गरी कारबाही गरिएको छ ।

    उनले स्कुल बस निर्देशिका २०७४ बमोजिम स्कुल बस नचलाउने १ सय ७० चालकलाई कारबाही गरिएको जानकारी दिए । जसमध्ये मादक पदार्थ सेवन गरेर सवारी चलाउने ३७ जना चालक रहेका छन् ।


    images
    images

    Logo