काठमाडौं । नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझी चौथौ पटक अर्घाखाँचीबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । रायमाझीले ४२ हजार ६ सय ७५ मत प्राप्त गरेका छन् भने उनको प्रतिस्पर्धी नेपाली कांग्रेसका केन्द्रीय सदस्य पुष्पा भुसालले ४० हजार ९ सय ४५ मत प्राप्त गरेका थिए । रायमाझी एक हजार ७ सय ३० मत बढी ल्याएर विजयी भएका हुन् ।
अर्घाखाँचीबाट चौथोपटक जित हासिल गर्नुभएका एमाले सचिव रायमाझी २०६४ र २०७० मा संविधानसभा सदस्य, २०७४ सालमा नेकपा (माओवादी केन्द्र) बाट विजयी भएका थिए । सन्धिखर्क नगरपालिका अर्घाखाँचीमा २०१८ साल कात्तिक २५ गते बाबु विनबहादुर रायमाझी र आमा लीला रायमाझीका सन्तानका रूपमा जन्मनुभएका रायमाझीका पत्नी योगमाया, एक छोरा र दुई छोरी रहेका छन् ।
उनले २०३० सालदेखि राजनीतिमा प्रवेश गरी २०३४ सालमा पार्टी सदस्यता प्राप्त लिएका थिए । नेता रायमाझीले २०४३ सालमा अनेरास्ववियु छैटौँको केन्द्रीय उपाध्यक्ष र २०४४ सालमा अनेरास्ववियु छैटौँको अध्यक्ष बनेर काम गरेका थिए ।
उनले वाइसिएल नेपाल केन्द्रीय संस्थापक अध्यक्ष भएर २०४८ सालमा काम गरेका थिए । उनले २०४८ सालमा नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य भएर काम गरेका थिए ।
सचिव रायमाझी २०५३ सालमा अखिल भारत प्रवास इञ्चार्ज, २०५५ र २०६२ सालमा नेकपा (माओवादी) को केन्द्रीय पोलिटब्युरो सदस्य, २०७० साल नेकपा (माओवादी केन्द्रीय) सचिव, २०७५ सालमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति सदस्य बनेका थिए ।
उनले २०६६ सालमा भौतिक योजना तथा निर्माणमन्त्री, २०६७ सालमा स्थानीय विकास, २०६८ मा शान्ति तथा पुनर्निर्माण र २०७२ उपप्रधान एवं ऊर्जामन्त्रीको जिम्मेवारी सम्हालिसक्नुभएका छन् । उनले राजनीतिक आन्दोलनका क्रममा २०४२ देखि २०६२ सम्म भूमिगत जीवन बिताएका थिए ।



