images
images

कर्णाली : प्रतिनिधिसभातर्फ ६ र प्रदेशसभातर्फ १३ स्थानको नतिजा सार्वजनिक


  • 283
    SHARES
  • २०७९ मंसिर ८ गते बिहीबार

    कर्णाली : प्रतिनिधिसभातर्फ ६ र प्रदेशसभातर्फ १३ स्थानको नतिजा सार्वजनिक

    काठमाडौं ।  कर्णाली प्रदेशका १२ निर्वाचन क्षेत्रमध्ये अहिलेसम्म प्रतिनिधिसभातर्फ ६ ठाउँको अन्तिम नतिजा सार्वजनिक भएको छ । प्रदेशसभातर्फ १३ स्थानको अन्तिम नतिजा आएको छ । अहिलेसम्म प्रतिनिधिसभातर्फ सुर्खेत क्षेत्र नं २, दैलेखका दुईवटै क्षेत्र, जाजरकोट, सल्यान र जुम्लाको अन्तिम नतिजा सार्वजनिक भएको छ । 

    सार्वजनिक नतिजा अनुसार सत्ता गठबन्धनले प्रतिनिधिसभातर्फ ५ क्षेत्रमा जितेको छ भने एउटा क्षेत्रमा राप्रपाले जित हासिल गरेको छ । सोअन्तर्गत प्रतिनिधिसभातर्फ सुर्खेत क्षेत्र नं २ बाट नेपाली कांग्रेसका हृदयराम थानी विजयी हुँदा नेकपा (एमाले)का अमृतकुमार विसी पराजित भएका छन् । थानीको पक्षमा ३४ हजार ६ सय २५ मत ल्याउँदा एमालेका अमृतकुमार विसीले २९ हजार ५ सय ५८ मत प्राप्त गरेका छन्। 

    त्यसैगरी दैलेख क्षेत्र नं १ मा सत्ता गठबन्धका उम्मेद्वार नेकपा (एकीकृत समाजावादी)का अम्मरबहादुर थापाले एमालेका रवीन्द्रराज शर्मालाई पराजित गरेको छ । थापाले १८ हजार २ सय ५६ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी एमालेका शर्माले १७ हजार ५ सय ७ मत प्राप्त गरेका छन् । राप्रपाकी महामन्त्री कुन्तीकुमारी शाहीले ४ हजार ६ सय २ मत प्राप्त गरे। दैलेख क्षेत्र नं २ मा पनि नेपाली कांग्रेसका दिक्पाल शाही विजयी भएका छन् । उनले एमालेका लक्ष्मी पोख्रेललाई १ सय ५३ मतान्तरले हराए । 

    यसैबीच जाजरकोटमा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत ३४ हजार एक सय ५१ मत प्राप्त गरेर विजयी भएका छन् । उनका प्रतिस्पर्धी एमालेका निरज आचार्य २५ हजार १ सय २० मत ल्याएर पराजित भएका छन् । 

    यसैगरी सल्यानमा एकीकृत समाजवादीका प्रकाश ज्वालाले ३५ हजार ७ सय मत ल्याएर स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाहलाई हराएका छन्। शाहले १९ हजार ७ सय ८९ मत पाउँदा एमालेका राजेन्द्रवीर राय १३ हजार २९ मतसहित तेस्रो स्थानमा रहेका छन् । 

    यस्तै जुम्लामा राप्रपाका ज्ञानेन्द्रबहादुर शाही भारी मतसहित विजयी भएका छन् । उनले २२ हजार ८ सय १९ मत ल्याएर विजयी भएका छन् । सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका गोमा गौतम कुँवरलाई १० हजार ८ सय ६० मतान्तरले उनले पछाडी पारे। यस्तै सुर्खेत क्षेत्र नम्बर १ मा पनि नेपाली कांग्रेस उपसभापतिसमेत रहेका पूर्णबहादुर खड्काले आफ्नो अग्रतालाई बढाउँदै जानुभएको छ भने मुगु, हुम्ला र डोल्पामा अहिले मतगणना जारी छ । 

    प्रदेशसभातर्फ १३ ठाउँको नतिजा सार्वजनिक  

    कर्णाली प्रदेशका २४ निर्वाचन क्षेत्रमध्ये १३ क्षेत्रको अन्तिम परिणाम आइसकेको छ । त्यसमा गठबन्धनको वर्चस्व देखिएको छ । अन्तिम नतिजा सार्वजनिक भएका क्षेत्रमा तीन ठाउँमा एमालेले जित निकालेको छ भने अरु १० ठाउँमा सत्ता गठबन्धका उम्मेदवार निर्वाचित भएका छन् । सुर्खेत क्षेत्र नं २ (२) मा एमालेका यामलाल कँडेल विजयी हुनुभएको छ ।

     कँडेलले १८ हजार ५ सय ६१ मत ल्याएर विजयी हुँदा उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कालीप्रसाद शाक्य १८ हजार ४ सय मत ल्याएर पराजित भएका छन् । यस्तै दैलेख क्षेत्र नं १ (१) बाट प्रदेशसभा सदस्य पदमा नेपाली कांग्रेसका पूर्णबहादुर खत्री विजयी भइसक्नुभएको छ । उनले एमालेका धर्मराज रेग्मीलाई १ हजार ३ सय ९२ मतान्तरले पराजित गर्दै विजय हासिल गरेका हुन् । उनले  ९ हजार ४ सय ६४ मत ल्याएर निर्वाचित हुँदा पूर्व माओवादी रेग्मीले ८ हजार ७२ मत प्राप्त गरे ।

    यस्तै त्यही क्षेत्रको प्रदेशसभा (२) तर्फ पनि नेपाली कांग्रेसका कृष्णकुमार विसी विजयी भएका छन् । उनले १० हजार ५ सय ४४ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी एमालेका प्रेमबहादुर थापाले ९ हजार ४ सय ६८ मत पाए । 

    यस्तै दैलेख क्षेत्र नं २ (१) तर्फ पनि नेपाली कांग्रेसका घनश्याम भण्डारी विजयी भएका छन् । एमालेका तिलकप्रसाद रिजाललाई १ हजार ३ सय ५ मतले हराएका हुन् । भण्डारीले १० हजार ८ सय मत पाउँदा एमालेका रिजालले ९ हजार ४ सय ९५ मत प्राप्त गरेका छन् । जाजरकोट प्रदेशसभा (१) मा नेपाली कांग्रेसका वेदराज सिंह विजयी भएका छन् । 

    सिंहले १८ हजार ५ सय ४३ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धी एमालेका डम्बरबहादुर सिंहले १२ हजार ४ सय ७० मत प्राप्त गरे । जाजरकोटकै प्रदेशसभाअन्तर्गत (२) बाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीवविक्रम शाह निर्वाचित भएका छन् । उनले १६ हजार ४० मत ल्याउँदा एमालेका खिमबहादुर शाहीले १० हजार ५ सय ३० मत पाएका छन् । 

    कर्णालीका मुख्यमन्त्रीका दाबेदारसमेत रहेका ललितजङग शाहीलाई स्वतन्त्र उम्मेदवार देवेन्द्रबहादुर शाहीले पराजित गरे । जुम्ला प्रदेशसभा (१) मा वामलोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार कांग्रेसका शाहीलाई १ हजार ८ सय ९९ मतले हराउँदै देवेन्द्रबहादुर विजयी भएका हुन् । यस्तै जुम्ला प्रदेशसभा–२ मा गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका पदमबहादुर रोकायलाई हराउँदै एमालेका टेकराज पछाई विजयी भएका छन् । 

    कर्णाली प्रदेशका बहालवाला भौतिक पूर्वाधार तथा सहकारीमन्त्री रोकायलाई पछाईले पराजित गरेका छन्। पछाई ७ हजार ८ सय १५ मतले विजयी भएका हु्न । रोकायले ६ हजार ७ सय २२ मत प्राप्त गरेका हुन् । पछाई एमाले प्रदेश कमिटी उपसचिव हुनुहुन्छ । यस्तै सल्यानमा पनि सत्ता गठबन्धनकै उम्मेदवार प्रदेशसभामा निर्वाचित हुनुभएको छ । कर्णाली प्रदेशभरको नतिजा शुक्रबार साँझसम्म आइसक्ने आकलन गरिएको छ । 

     


    images
    images

    Logo