काठमाडौं । प्रतिनिधिसभा निर्वाचनतर्फ १६५ निर्वाचन क्षेत्रमध्ये १६१ निर्वाचन क्षेत्रको मतगणना प्रक्रिया सुरु भएको छ । सुरु भएकामध्ये ३९ स्थानको नतिजा समेत सार्वजनिक भइसकेको छ ।
तर, अहिलेसम्म ४ वटा निर्वाचन क्षेत्रको मतगणना भने सुरु हुन सकेको छैन । बाजुरा, हुम्ला, स्याङ्जा–२ र दोलखामा अझै मतगणना सुरु हुन सकेको छैन ।
चुनावको दिन निर्वाचन आयोगले गुल्मी, सुर्खेत, नवलपरासी र बाजुराका १५ स्थानको मतदान स्थगित गरेको थियो । तीमध्ये बाजुराका केही मतदान केन्द्र बाहेकका क्षेत्रमा पुनः मतदान भएर मतगणना समेत सुरु भइसकेको छ ।
तर बाजुराको २ केन्द्रमा भने अझै मतदान हुन सकेको छैन । उता स्याङ्जा–२ मा चुनावमा धाँधली भएको भन्दै नेकपा एमाले नेतृत्वको गठबन्धनका दलहरुले पुनः मतदानको माग गरिरहेका छन् । यो क्षेत्रमा काँग्रेसका उपसभापति धनराज गुरुङ र एमालेकी पोलिटब्युरो सदस्य पद्मा अर्याल प्रतिस्पर्धामा छन् ।
त्यस्तै अवस्था दोलखामा समेत देखिएको छ । दलहरु मतणनाको लागि तयार नहुँदा त्यहाँ मतगणना सुरु हुन नसकेको हो । यो क्षेत्रमा एमाले र माओवादीका उम्मेदवारहरु मैदानमा छन् ।
हुम्लामा भने मौसमको प्रतिकुलताका कारण मतपेटिका संकलन हुन नसक्दा मतगणना रोकिएको छ । यहाँ पनि एमाले माओवादी र राप्रपाका उम्मेदवार मैदानमा छन् ।



