काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौँ क्षेत्र नं २ को प्रदेशसभाको दुबै क्षेत्रमा विजय हासिल गरेको छ । प्रदेशसभाको दुबै क्षेत्रमा राप्रपाका उम्मेदवार विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत यज्ञराज रेग्मीले जानकारी दिए।
प्राप्त पछिल्लो मतपरिणाम अनुसार काठमाडाैं क्षेत्र नं २ (२) राप्रपाका राजु विष्ट १२ हजार १ सय ६३ मतले विजयी भएका हुन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका सुवर्ण श्रेष्ठले ९ हजार ९० मत प्राप्त गरेका छन् ।
यसअघि काठमाडाैं क्षेत्र नं २ (१) मा राप्रपाका सुनिल केसीले विजयको सुरुआती खाता खोल्नुभएको थियो । केसीले ५ हजार ५ सय ९८ मत ल्याएका थिए ।
समानुपातिक मतगणना सुरु
काठमाडौं क्षेत्र नं २ को प्रतिनिधिसभाको समानुपातिकतर्फको मत गणना जारी रहेको छ । प्रदेशसभाको पनि केहीबेर अघिबाट गणना सुरु भएको सहायक निर्वाचन अधिकृत रेग्मीले जानकारी दिए ।



