काठमाडौं । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा करिब ६१ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । यो संख्यामा सबै विवरण आएपछि केही प्रतिशत वृद्धि हुने सक्ने निर्वाचन आयोगले जनाएको छ ।
आइतबार साझँ प्रमुख निर्वाचन आयुक्त दिनेश थपिलयाले पत्रकार सम्मेलन गर्दै भने‘ हामीले अपेक्षा गरेभन्दा केही थोरै हो, केही सामान्य घटना बाहेक शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।’
सुर्खेत, नवलपरासी, गुल्मी र बाजुरा जिल्लाका १५ स्थानमा भने मतदान स्थगित भएको उनले बताए । आयोगले शान्तिपूर्ण र उत्साहजनक रुपमा निर्वाचन सम्पन्न भएको पनि जनाएको छ । मतदानका क्रममा बाजुरा जिल्लामा दोहोरो झडप हुँदा एकजना सर्वसाधारण नागरिकको मृत्यु तथा अन्य केही स्थानमा केही नागरिक घाइते भएका छन् । यस्तै आयोगले निर्वाचन सफल बनाउने सबैलाई धन्यवाद समेत दिएको छ ।
मतदान सम्पन्न भएका सबै मतदानस्थलबाट आज साँझदेखि नै मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी भइरहेको छ । मतपेटिका मतगणनास्थलमा ल्याइसकेपछि दलीय सहमति जुटाई काठमाडौं उपत्यका लगायतका क्षेत्रमा आज रातिदेखि नै मतगणना सुरु गर्ने र अन्य स्थानमा मतपेटिका सुरक्षित साथ सङ्कलन भएपछि तत्काल मतगणना प्रारम्भ गर्न आयोगले निर्देशन दिइएको छ ।



