images
images

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएको भन्दै देउवाले दिए सबैलाई धन्यवाद


  • 326
    SHARES
  • २०७९ मंसिर ४ गते आइतबार

    शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएको भन्दै देउवाले दिए सबैलाई धन्यवाद

    काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन शान्तिपूर्ण एवं भयरहित वातावरणमा निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण रूपमा सम्पन्न भएकोमा पार्टीका तर्फबाट सबैलाई धन्यवाद दिएका छन् ।  

     सभापति देउवाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि आज सम्पन्न मतदानमा देशभर अत्यन्त उत्साहपूर्ण रूपमा मतदान भएको उल्लेख गरेका छन् । संविधानसभाबाट संविधान जारी भएपछिका दिनमा संविधानको रक्षा र लोकतान्त्रिक पद्धतिको विकासका लागि आम नेपालीले जिम्मेवारीपूर्वक आफ्ना भूमिका निर्वाह गर्दै आएका छन् ।

    यो आम निर्वाचनमा नेपाली जनताले आफ्नो नागरिक अधिकारको प्रयोग गरिरहँदा दशकौँंदेखिको लोकतन्त्रप्रतिको साधना र समर्पण फेरि एकपटक उजागर भएको सभापति देउवाले बताएका पार्टीका मुख्यसचवि कृष्णप्रसाद पौडेलले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ।मतदानमा भएको यो उत्साहपूर्ण सहभागिताले नेपाली नागरिकका मनमा रहेको लोकतन्त्रप्रतिको अगाध र अविचलित आस्था अभिव्यक्त भएको सभापति देउवाको भनाइ छ ।
      
    आवधिक निर्वाचन लोकतन्त्रको अनिवार्य शर्त भएको उल्लेख गर्दै कांग्रेसले  निर्वाचनबाट आउने परिणामले मुलुकलाई स्वाधीन, स्वाभिमानी र समुन्नत बनाउँदै लोकतान्त्रिक संस्कार र संस्कृतिमा आधारित समतामूलक समाज निर्माणमा सहयोग गर्नेछ भन्ने विश्वास पनि प्रधानमन्त्रीसमेत रहनुभएका सभापति देउवाले लिनुभएको छ । निर्वाचनमा अत्यन्त उत्साह, संयम र धैर्यका साथ सरिक भई अमूल्य मत खसाल्ने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइप्रति उनले हार्दिक आभार एवं कृतज्ञता व्यक्त गरे ।

    निर्वाचनमा मतदाताको सक्रियता र उत्साहपूर्ण सहभागिताका साथ अमूल्य मत खसाल्नुभएकामा सरकार र राजनीतिक दललाई थप प्रेरणा दिएको कांग्रेसको भनाइ छ । निर्वाचनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ र संस्थागत गर्न ठूलो योगदान पुर्याएको छ ।

    शान्तिपूर्ण र भयरहित वातावरणमा निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउन सफल भएकामा निर्वाचन आयोगलाई सभापति देउवाले विशेष धन्यवाद दिएका छन् । निर्वाचन सफल गराउन अहोरात्र खटिनुभएका राष्ट्रसेवक कर्मचारी र सुरक्षा निकायलाई पनि उनले धन्यवाद दिएका छन् । निर्वाचनमा सहभागी राजनीतिक दल, सञ्चारकर्मी एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकप्रति समेत उनले धन्यवाद ज्ञापन गरेका छन् ।


    images
    images

    Logo