रूपन्देही । ट्रकको ठक्करबाट रुपन्देहीमा पत्रकारको मृत्यु भएको छ । रुपन्देहीका पत्रकार एनबी कंडेल (नरबहादुर कंडेल)को शुक्रबार साँझ ट्रकको ठक्करबाट मृत्यु भएको हो ।
शुक्रबार साँझ तिलोत्तमा नगरपालिका २ जानकीनगरस्थित सिदार्थ राजमार्गमा बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु ४४ प ८२०१ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको लु १ क ५२७६ रेडिमिक्स (सिमेन्ट घोल्ने ट्रक) ले ठक्कर दिँदा मोटरसाइकलमा सवार कंडेलको मृत्यु भएको हो ।
रुपन्देही सैनामैना नगरपालिका–१ रानीबगिया निवासी ३६ बर्षीय कंडेलको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
ठक्कर दिने सवारी र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।डेढ दशकदेखि पत्रकारितामा आबद्ध कंडेल रुपन्देहीबाट सञ्चालित ग्लोबल आवाज डटकममा सम्पादक थिए । श्रीमती, एक छोरा र एक छोरीसहित उनी बुटवलमा बस्दै आएका थिए ।



