भक्तपुर । स्थानीय प्रशासनले भक्तपुरका ३६ मतदानस्थललाई समान्य संवेदनशील सूचिमा राखेर सुरक्षा व्यवस्था मिलाएको छ । प्रमुख जिल्ला अधिकारी रूद्रा देवी शर्माका अनुसार, जिल्लाका ७६ मतदान स्थलमध्य ३६ स्थललाई सामान्य संवेदनशील मतदान केन्द्र मानेर सुरक्षा व्यवस्था मिलाइएको छ ।
बाँकी ४० वटा केन्द्रलाई समान्य अवस्थामा वर्गीकरण गरिएको छ । निर्वाचन सुरक्षाका लागि ८ सय ८६ जना म्यादी प्रहरी सहित नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना गरेर करिव दुई हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । त्यसैगरी भक्तपुरका दुई प्रतिनिधि सभा तथा प्रदेश सभाका चार सदस्य निर्वाचन सम्पन्न गर्न एक हजार ९ सय ६१ कर्मचारी खटाइएको छ ।
निर्वाचनका लागि भक्तपुरमा १० अपांगमैत्री मतदान केन्द्र निर्माण गरिको छ । भक्तपुर नगरमा चार, मध्यपुर थिमिमा तीन, चाँगुनारायण नगरपालिकामा एक र सुर्यविनायक नगरपालिका क्षेत्रमा दुईवटा अपांगमैत्री मतदान केन्द्र बनाइएको हो ।
सबैलाई सहज वातावरणमा मतदान गर्न सजिलो होस भन्ने उदेश्यले अपांगमैत्री मतदान केन्द्र निर्माण गरिएको बताइएको छ ।



