काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आइतबार देशभर एकै चरणमा मतदान हुँदैछ । प्रतिनिधिसभाका लागि प्रत्यक्ष र समानुपातिक गरी २ सय ७५ र प्रदेशसभाका लागि प्रत्यक्ष र समानुपातिक गरी ५ सय ५० पदका लागि ११ हजार ५ सय ४३ उम्मेदवार प्रतिस्पर्धामा छन् ।
प्रतिनिधिसभाको प्रत्यक्षतर्फ २ हजार १ सय ८९ पुरुष र २ सय २५ महिला गरी कूल २ हजार ४ सय १२ तथा समानुपातिकतर्फ १ हजार १२ पुरुष र १ हजार १ सय ८७ महिला गरी कूल २ हजार १ सय ९९ उम्मेदवार चुनावी मैदानमा छन् ।
प्रदेशसभाको प्रत्यक्षतर्फ २ हजार ९ सय ४३ पुरुष, २ सय ८० महिला र १ अन्य गरी कूल ३ हजार २ सय २४ तथा समानुपातिकतर्फ २ हजार १ सय ९७ पुरुष र १ हजार ५ सय ११ महिला गरी कूल ३ हजार ७ सय ८ उम्मेदवार प्रतिस्पर्धामा छन् ।
देशभर १० हजार ८ सय ९२ मतदानस्थलमा २२ हजार २ सय २७ मतदान केन्द्र निर्धारण गरिएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा ९१ लाख ४० हजार ८ सय ६ पुरुष, ८८ लाख ४७ हजार ५ सय ७९ महिला र १ सय ८५ अन्य गरी कूल १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाता कायम छन् । आयोगले मतदाता सूचीमा नाम समावेश भएका यही मङ्सिर ३ गतेसम्म १८ वर्ष पूरा हुने बालिग मतदाताले मतदान गर्न पाउने व्यवस्था गरेको छ ।
काठमाडौं उपत्यकामा मात्रै ५ सय २७ मतदानस्थलमा १ हजार २ सय ७९ मतदान केन्द्र तोकिएको छ । काठमाडौंमा ३ सय २० मतदानस्थल र ७ सय ६७ मतदान केन्द, भक्तपुरमा ७६ मतदानस्थल र २ सय २२ मतदान केन्द्र तथा ललितपुरमा ७६ मतदानस्थल र २ सय ९० मतदान केन्द्र रहेको छ । काठमाडौं १०, ललितपुरमा ३ र भक्तपुरमा २ निर्वाचन क्षेत्र छन् ।
काठमाडौं निर्वाचन क्षेत्र नं १ मा २२ मतदानस्थलमा ५२ मतदान केन्द्र, काठमाडौं २ मा ४० मतदानस्थलमा ९५ मतदान केन्द्र, काठमाडौं ३ मा २९ मतदानस्थलमा ६८ मतदान केन्द्र, काठमाडौं ४ मा ३३ मतदानस्थलमा ८२ मतदान केन्द्र तथा काठमाडौं ५ मा ३१ मतदानस्थलमा ८१ वटा मतदान केन्द्र छन् ।
काठमाडौं निर्वाचन क्षेत्र नं ६ मा ३२ मतदानस्थलमा ७५ मतदान केन्द्र, काठमाडौं ७ मा २९ मतदानस्थलमा ७१ मतदान केन्द्र, काठमाडौं ८ मा २३ मतदानस्थल र ६१ मतदान केन्द्र, काठमाडौँ ९ मा ३४ मतदानस्थलमा ८५ केन्द्र तथा काठमाडौँ क्षेत्र नं १० मा ४७ मतदानस्थलमा ९७ वटा मतदान केन्द्र छन् ।
यस्तै ललितपुर क्षेत्र नं १ मा ५३ मतदानस्थल र ९१ केन्द्र, ललितपुर २ मा ३९ मतदानस्थलमा ९३ केन्द्र र ललितपुर ३ मा ३९ मतदानस्थलमा १ सय ५ मतदान केन्द्र तथा भक्तपुर १ मा ३७ मतदानस्थल र १ सय १५ मतदान केन्द्र र भक्तपुर २ मा ३९ मतदानस्थल र १ सय ७ मतदान केन्द्र निर्धारण गरिएको छ ।
काठमाडौंमा ३ लाख १५ हजार २ सय ५४ पुरुष, ३ लाख ३६ हजार ८ सय ६४ महिला र ८ अन्य गरी कूल ६ लाख ५२ हजार १ सय २६ मतदाता रहेको छन् । ललितपुरमा १ लाख २२ हजार २ सय ७४ पुरुष, १ लाख २८ हजार १ सय ३५ महिला र १ अन्य गरी २ लाख ५० हजार ४ सय १० मतदाता छन् । भक्तपुरमा ९४ हजार ६ सय ८३ पुरुष, ९९ हजार ७ सय ५१ महिला र ५ अन्य गरी कूल १ लाख ९४ हजार ४ सय ३९ मतदाता रहेको आयोगको तथ्याङ्क छ ।
देशभर १ सय ४१ अस्थायी मतदान केन्द्र
आयोगले मतदाता नामावलीमा नाम समावेश भएका तर मतदान केन्द्रमा नखटिने कर्मचारी र सुरक्षाकर्मी, वृद्धाश्रममा रहेका व्यक्ति, निर्वाचन कसुरमा सजाय पाएकाबाहेकका कारागारमा रहेका कैदी र बन्दीलगायत व्यक्तिलाई प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदानको व्यवस्था मिलाउन देशभर १ सय ४१ अस्थायी मतदान केन्द्र निर्धारण गरेको छ । आयोगले २०७२ सालमा जारी भएको नेपालको संविधानपछि अस्थायी मतदाताले मतदान गर्ने व्यवस्था पहिलो पटक कार्यान्वयनमा ल्याएको हो ।
आयोगले मतदान केन्द्रमा खटिने कर्मचारी र सुरक्षाकर्मीलाई खटिएकै केन्द्रबाट मतदान गर्ने व्यवस्था मिलाएको छ । काठमाडौं उपत्यकामा सात वटा अस्थायी मतदान केन्द्र तोकिएको छ । काठमाडौंमा ४, ललितपुरमा २ र भक्तपुरमा १ अस्थायी मतदान केन्द्र राखिएको आयोगले जनाएको छ ।
काठमाडौंमा जिल्ला समन्वय समितिको कार्यालय बबरमहल, कारागार कार्यालय डिल्लीबजार, केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल र सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालय हल्चोक, ललितपुरमा कारागार कार्यालय नख्खु र नमुना मछिन्द्र माध्यामिक विद्यालय लगनखेल तथा भक्तपुरमा भक्तपुर बहुमुखी क्याम्पस दूधपाटीमा अस्थायी केन्द्र तोकिएको छ । देशभर ४ लाख ५० हजार अस्थायी मतदाता कायम रहेका छन् ।



