काठमाडौं । बैंकहरुको निक्षैप एकैदिन १६ अर्ब रुपैयाँले बढेको छ । नेपाल राष्ट्र बैंकको विवरण अनुसार कात्तिक ३० गते बैंकहरुको निक्षेप सो रकम बराबर बढ्न पुगेको हो ।
कात्तिक २९ गते ५१ खर्ब ६८ अर्ब रुपैयाँ रहेको निक्षेप ३० गते एकैदिन १६ अर्ब रुपैयाँले बढेर ५१ खर्ब ८४ अर्ब रुपैयाँमा पुगेको छ । त्यस्तै, सोही समयमा वाणिज्य बैंकहरुको निक्षेप पनि एकैदिन १३ अर्ब रुपैयाँले बढेको छ । कात्तिक २९ गते ४५ खर्ब ४८ अर्ब रुपैयाँ रहेको थियो ३० गते सो रकम १३ अर्बले बढेर ४५ खर्ब ६१ अर्ब रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरि, सोही समयमा अन्य बैंक तथा वित्तीय संस्थाहरुको पनि निक्षेप ३ अर्ब रुपैयाँले बढेको छ । २९ गते ६ खर्ब २० अर्ब रुपैयाँ रहेको निक्षेप ३० गते ३ अर्बले बढेर ६ खर्ब २३ अर्ब रुपैयाँ पुगेको छ ।
यसरी बैंकहरुको निक्षेप एकैदिन १६ अर्बले बढ्दा कर्जा लगानी भने १ अर्ब रुपैयाँले मात्रै बढेको छ । कात्तिक २९ गते ४७ खर्ब ५७ अर्ब रहेको कर्जा लगानी ३० गते १ अर्बले बढेर ४७ खर्ब ५८ अर्ब रुपैयाँ पुगेको छ । सो समयमा वाणिज्य बैंकको कर्जा लगानी ४२ खर्ब १३ अर्ब रुपैयाँ रहेको छ भने अन्य बैंक तथा वित्तीय संस्थाको ५ खर्ब ४५ अर्ब रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।
कात्तिक ३० गते बैंकहरुको सीडी रेसियो पनि घटेर ८६.८५ प्रतिशतमा झरेको छ ।



