भक्तपुर । भक्तपुरबाट निर्वाचनकालागि आएको दस बोरा गुणस्तरहिन सेनिटाइजर फिर्ता गरिएको छ । मंसिर ४ गतेको चुनावका लागि निर्वाचन आयोगले खरिद गरेर जिल्ला पठाएको सेनिटाइजरमा बिशाक्त रसायन भेटिएपछि मतदान केन्द्र पठाउने वेलामा फिर्ता गरिएको हो ।
अन्य आवश्यक सामानसंगै प्याकिङ गरिसकिएको सेनिटाइजर प्रयोग नगर्न निर्वाचन आयोगले एसएमएस मार्फत सूचना गरेको निर्वाचन कार्यलय भक्तपुरले जनाएको छ । औषधी व्यवस्था बिभागले गरेकोे गुणस्तर परिक्षणमा बिशाक्त रसायन भेटिएपछि सो सेनिटाइजर प्रयोग नगर्न सचेत गरेको थियो । आयोगले प्रत्येक मतदान केन्द्रलाई ५ सय मिलिलिटरको पाँच थानका दरले बितरण गर्नेगरी भक्तपुरका लागि १० बोरा सेनिटाइजर पठाएको थियो ।
भारतमा २०२२ मा निर्मित सेनिटाइजरमा नेपालका लागि मात्र भन्ने उल्लेख गरिएको छ । ग्लोवल हेल्थ केयर नामक कम्पनीद्वारा उत्पादित सेनिटाइजरमा मुल्य समेत उल्लेख छैन । आयुर्वेदिक सेनिटाइजर उल्लेख गरिएको छ ।
आयोगले हालसम्म कसरी गुणस्तरहिन सेनिटाइजर खरिद भयो भन्ने विषयमा कुनै प्रतिक्रिया दिएको छैन । निर्वाचनमा खटिएका कर्मचारीले भने आयोगका कार्मचारीले आर्थिक प्रलोभनमा परेर गुणस्तरहिन सेनिटाइजर खरिद गरेको आरोप लगाएका छन ।



