images
images

चार महिनामा बजेट खर्च साढे १९ प्रतिशत


  • 472
    SHARES
  • २०७९ मंसिर १ गते बिहीबार

    चार महिनामा बजेट खर्च साढे १९ प्रतिशत

    काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चार महिनामा सरकारी बजेट खर्च साढे १९ प्रतिशत मात्रै भएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार कात्तिक मसान्तसम्म ३ खर्ब ५० अर्ब ९८ करोड ७३ लाख रुपैयाँखर्च भएको हो । जुन वार्षिक विनियोजित बजेटको १९.५७ प्रतिशत बराबर हो ।

    यस अवधिमा चालुतर्फ २३.७८ प्रतिशत बजेट खर्च भएको छ । चालु आर्थिक बर्षका लागि चालु शीर्षकमा ११ खर्ब ८३ अर्ब २३ करोड ५१ लाख रुपैयाँ बजेट बिनियोजन भएकोमा कात्तिक मसान्तसम्ममा २ खर्ब ८१ अर्ब ३८ करोड ६१ लाख रुपैयाँ खर्च भएको हो । 

    त्यस्तै, पुँजीगततर्फ ३ खर्ब ८० अर्ब ३८ करोड ४५ लाख रुपैयाँ बजेट बिनियोजन भएकोमा हालसम्म ६.९१ प्रतिशत अर्थात् २६ अर्ब २९ करोड ६१ लाख रुपैयाँ बराबर खर्च भएको छ । 

    वित्तीय व्यवस्थापन शीर्षकमा २ खर्ब ३० अर्ब २१ करोड ७७ लाख रुपैयाँ बराबरको वार्षिक बजेट रहेकोमा अहिलेसम्म १८.८१ प्रतिशत अर्थात् ४३ अर्ब ३० करोड ५१ लाख रुपैयाँ खर्च भएको छ । 

    यही अवधिसम्म सरकारको राजस्व सङ्कलन १९.११ प्रतिशत रहेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षका लागि कूल १४ खर्ब ३ अर्ब १४ करोड ७० लाख रुपैयाँ बराबर राजस्व उठाउने सरकारको लक्ष्य रहेकोमा कात्तिक मसान्तसम्ममा २ खर्ब ६८ अर्ब ७ करोड १७ लाख रुपैयाँ बराबर असूली भएको छ । जसमध्ये कर राजस्वतर्फ १८.९७ प्रतिशत अर्थात् २ खर्ब ४५ अर्ब ७८ करोड ६८ लाख रुपैयाँ र गैरकर राजस्वतर्फ २०.६८ प्रतिशत अर्थात् २२ अर्ब २८ करोड ४९ लाख रुपैयाँ उठेको छ ।

    पहिलो ४ महिनामा सरकारले ३ अर्ब ४१ करोड ५९ लाख रुपैयाँ वैदेशिक अनुदान लिएको छ । जुन वार्षिक लक्ष्यको ६.१६ प्रतिशत बराबर हो । चालु आर्थिक बर्षका लागि सरकारले ५५ अर्ब ४५ करोड ८३ लाख रुपैयाँँ वैदेशिक अनुदान लिने लक्ष्य राखेको छ ।


    images
    images

    Logo