पाटन । प्रदेशसभाका लागि छ निर्वाचन क्षेत्र रहेको ललितपुरमा गठबन्धन र एमालेबीच नै प्रतिस्पर्धा हुने देखिएको छ । छ वटै स्थानीय तह रहेको यस जिल्लामा एक महानगरपालिका दुई नगरपालिका र तीन गाउँपालिका छन् ।
ललितपुर १ को प्रदेशसभा निर्वाचन क्षेत्र (१) मा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार हरि दाहाल र नेकपा (एमाले)का उम्मेदवार मधुसुधन पौडेलबीच प्रतिस्पर्धा हुने देखिन्छ । यस क्षेत्रमा विभिन्न दल र स्वतन्त्र गरी १० उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ । यस क्षेत्रमा १८ हजार ३ सय ३७ पुरुष, १८ हजार ४ सय ४५ महिला र १ अन्य गरी ३६ हजार ७ सय ८३ मतदाता रहेका छन् ।
यस प्रदेश निर्वाचन क्षेत्रमा महाङ्काल गाउँपालिकाका पूरै वडा, कोञ्ज्योसोम गाउँपालिकाको वडा नं.१, ४ र ५ तथा गोदावरी नगरपालिकाका १, २, ३, ४, ५ र १३ गरी १५ वडा पर्छन् । यस क्षेत्रमा ४७ मतदान केन्द्र रहेको निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।
ललितपुर १ प्रदेशसभा निर्वाचन क्षेत्र (२) मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार मीनकृष्ण महर्जन र एमालेका उम्मेदवार चेतनाथ सञ्जेलबीच प्रतिस्पर्धा रहेको छ । दुवै उम्मेदवार २०७४ को प्रदेशसभा निर्वाचनमासमेत प्रतिस्पर्धी थिए । त्यस बेला सञ्जेलले महर्जनलाई तीन सय मतले पछि पार्दै जीत हासिल गर्न सफल हुनुभएको थियो । यस क्षेत्रमा विभिन्न दल र स्वतन्त्र गरी १३ उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् ।
यहाँ १८ हजार ८ सय ९० पुरुष र १८ हजार सात सय २४ महिला गरी ३७ हजार ६ सय १४ मतदाता रहेका छन् । यस प्रदेश निर्वाचन क्षेत्रमा वाग्मती गाउँपालिकाका पूरै वडा, कोञ्ज्योसोम गाउँपालिकाका वडा नं २ र ३ तथा गोदावरी नगरपालिकाका ६, ७, ८, ९, १० र ११ गरी १५ वडा पर्छन् । यस क्षेत्रमा ४५ मतदान केन्द्र रहेका छन् ।
ललितपुर २ प्रदेशसभा निर्वाचन क्षेत्र (१) मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी उम्मेदवार रिसा श्रेष्ठ र एमालेका उम्मेदवार रामेश्वर श्रेष्ठबीच प्रतिस्पर्धा हुने देखिएको छ । एमालेका उम्मेदवार श्रेष्ठ महालक्ष्मी नगरपालिकाका निवर्तमान प्रमुख हुन् । यस क्षेत्रमा विभिन्न दल र स्वतन्त्र गरी ९ उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् ।
यहाँ १९ हजार ८ सय ३ पुरुष र २१ हजार ३ सय २३ महिला गरी ४१ हजार १ सय ३० मतदाता रहेका छन् । यस प्रदेश निर्वाचन क्षेत्रमा महालक्ष्मी नगरपालिकाका पूरै वडा र ललितपुर महानगरपालिकाको वडा नं १७ गरी ११ वडा पर्छन् । यस क्षेत्रमा ४७ मतदान केन्द्र रहेका छन् ।
त्यस्तै ललितपुर २ प्रदेशसभा निर्वाचन क्षेत्र (२) मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार रामकृष्ण चित्रकार र एमालेका उम्मेदवार ज्ञानेन्द्र शाक्यबीच प्रतिस्पर्धा हुने देखिएको छ । एमालेका उम्मेदवार शाक्य निवर्तमान वाग्मती प्रदेशसभा सदस्य रहेका छन् भने चित्रकार संविधानसभा सदस्य रहेका छन् । यस क्षेत्रमा विभिन्न दल र स्वतन्त्र गरी ११ उम्मेदवार प्रतिस्पर्धामा छन् ।
यहाँ १९ हजार ९ सय ३८ पुरुष र २० हजार ८ सय २९ महिला गरी ४० हजार ७ सय ६७ मतदाता रहेका छन् । यस प्रदेश निर्वाचन क्षेत्रमा ललितपुर महानगरपालिकाका वडा नं। ६, ७, ८, ९, ११, १२, १६ र १९ गरी आठ वडा पर्छन् । यस क्षेत्रमा ४६ मतदान केन्द्र रहने छन् ।
ललितपुर ३ प्रदेशसभा निर्वाचन क्षेत्र (१) मा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार राजकाजी महर्जन र एमालेका उम्मेदवार रघुनाथ महर्जनबीच प्रतिस्पर्धा हुने देखिएको छ । गठबन्धनकातर्फबाटका उम्मेदवार महर्जन निवर्तमान वाग्मती प्रदेशसभा सदस्य हुनुहुन्छ भने रघुनाथ पुस्तक तथा स्टेशनरी व्यवसायी छन् ।
यस क्षेत्रमा विभिन्न दल र स्वतन्त्र गरी ११ उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ । यहाँ २३ हजार ५ सय ८५ पुरुष र २५ हजार ४ सय ९६ महिला गरी ४९ हजार ८१ मतदाता रहेका छन् । यस प्रदेश निर्वाचन क्षेत्रमा ललितपुर महानगरपालिकाका वडा नं ५, १३, १४, १५, २३, २४, २६, २७, २८ र २९ तथा गोदावरी नगरपालिकाका १२ र १४ गरी १२ वडा पर्छन् । यस क्षेत्रमा ५६ मतदान केन्द्र रहेका छन् ।
त्यस्तै ललितपुर ३ प्रदेशसभा निर्वाचन क्षेत्र (२) मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार जीतेन्द्रकुमार श्रेष्ठ र एमालेका उम्मेदवार प्रेमभक्त महर्जनबीच प्रतिस्पर्धा हुने देखिएको छ । कांग्रेसका उम्मेदवार श्रेष्ठ पार्टीको जिल्ला सभापतिसमेत छन् । यस क्षेत्रमा विभिन्न दल र स्वतन्त्र गरी ९ उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । यहाँ २१ हजार ७ सय २१ पुरुष र २३ हजार ३ सय १४ महिला गरी ४५ हजार ३५ मतदाता रहेका छन् ।
यस प्रदेश निर्वाचन क्षेत्रमा ललितपुर महानगरपालिकाका वडा नं. १, २, ३, ४, १०, १८, २०, २१, २२ र २५ गरी १० वडा पर्छन् । यस क्षेत्रमा ४९ मतदान केन्द्र रहेका छन् । यस जिल्लामा एक लाख २२ हजार २ सय ७४ पुरुष र १ लाख २८ हजार १ सय ३५ महिला गरी कूल २ लाख ५० हजार ४ सय १० मतदाता रहेका छन् । जिल्लाभर दुई सय ९० मतदान केन्द्र रहने निर्वाचन आगोगले जनाएको छ ।



