images
images

इन्द्रबहादुर बानियाँ सुरक्षित, मुख्यमन्त्री बन्ने बाटो खुल्दै


  • 768
    SHARES
  • २०७९ मंसिर १ गते बिहीबार

    इन्द्रबहादुर बानियाँ सुरक्षित, मुख्यमन्त्री बन्ने बाटो खुल्दै

    हेटौंडा ।  मकवानपुरको राजनीतिमा चर्चित नाम हो,इन्द्रबहादुर बानियाँ । २०७० सालको संविधान सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसबाट मकवानपुर क्षेत्र नम्बर १ मा निर्वाचित भएर उनले कम्युनिष्टको लाल किल्ला तोड्दै इतिहास रचेका थिए । त्यतिबेला उनले नेकपा एमालेका अणराज जर्घामगरलाई पराजित गर्दै संविधान सभा सदस्य बनेका थिए ।

    १७ बर्षको उमेरदेखि  कांग्रेसको राजनीतिमा क्रियाशील बानियाँ पार्टीको जिल्ला नेतृत्व सम्हाल्दै हाल बागमती प्रदेश सभापति छन् । मुलुक संघीय संरचनामा गइसकेपछि २०७४ सालमा भएको प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनमा बानियाँ मकवानपुर क्षेत्र नम्बर २ (खं बाट प्रदेश सभा सदस्यमा निर्वाचित भए ।

    मकवानपुरको तत्कालीन हर्नामाडी गाविस ४ दियावतीमा २०२७ साल भदौमा जन्मिएका बानियाँ २०४४ सालमा राजनीतिमा प्रवेश गरेका थिए । उनी २०५१ सालमा कांग्रेस महाधिवेशन प्रतिनिधिका रुपमा चुनिएका थिए । २०५२ सालमा नेपाल विद्यार्थी संघको जिल्ला सहसचिवको जिम्मेवारी सम्हालेका उनी २०५५ सालमा तरुण दल जिल्ला सचिव हुँदै २०५६ सालमा तरुण दल मकवानपुरको अध्यक्ष भई राजनीतिक यात्रालाई निरन्तरता दिए । 

    २०५६ सालमा पार्टीको महासमिति सदस्य भएका बानियाँ २०५८ सालमा नेपाली कांग्रेस जिल्ला सदस्य चयन भए । २०७० सालको संविधान सभा सदस्यमा निर्वाचित बानियाँ २०७३ चैत्र १२ गते नेपाली कांग्रेस मकवानपुरको सभापतिमा  निर्वाचित भए ।  २०७४ सालमा संस्कृति पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री हुँदै गृह राज्यमन्त्रीसमेत भएका थिए, बानियाँ ।

    २०७४ मंसिर २१ गते मकवानपुर संघीय क्षेत्र १ को (ख) बाट प्रत्यक्षतर्फको प्रदेश सभा सदस्य निर्वाचित भएका बानियाँ नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता भई ५ वर्षे कार्यकाल पूरा गरेका छन् ।

    मकवानपुरमा कांग्रेसलाई सशक्त बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका बानियाँ २०७८ मंसिरमा भएको निर्वाचनमा नेपाली कांग्रेसको बागमती प्रदेशको सभापतिमा निर्वाचित भएका हुन् । मंसिर ४ गते हुने निर्वाचनमा मकवानपुर २ (ख) बाट प्रदेशसभा सदस्यको उम्मेदवार रहेका बानियाँलाई बागमती प्रदेशको भावी मुख्यमन्त्रीका रूपमा हेरिएको छ ।

    कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीसहिको लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार बानियाँसँग नेकपा एमालेबाट उम्मेदवार बनेका लालबहादुर थापालाई मुख्य प्रतिष्पर्धीको रुपमा हेरिएको छ । थापा २०७४ सालको स्थानीय तहको निर्वाचनमा राक्सिराङ गाउँपालिका अध्यक्षमा पराजित भएका थिए ।

    यस्तो छ चुनावी आँकडा

    २०७४ मा भएको निर्वाचनमा तत्कालीन एमालेका राजाराम स्याङ्तानलाई पराजित गरेका बानियाँलाई यसपटक भने स्याङ्तानसहित उनको पार्टी एकीकृत समाजवादी सहितको साथ छ । तत्कालीन समयमा माओवादी समेतको साथ लिएर चुनाव उठेका स्याङ्तानलाई कांग्रेसका उम्मेदवार बानियाँले एक हजार ४ सय ११ मतान्तरले पराजित गरेका थिए ।

    २०७४ को निर्वाचनमा बानियाँले १९ हजार दुईसय ४५ मत ल्याउँदा  एमालेका स्याङ्तानले १७ हजार ८ सय ३४ मत पाएका थिए । मकवानपुर–२ प्रदेशसभा ख मा ६७ हजार ४ सय ६९ मतदाता छन् ।

    हेटौंडा उपमहानगरपालिकाको ३ र १९ नम्वर वडासहित मनहरी गाउँपालिका, राक्सिराङ गाउँपालिका र कैलाश गाउँपालिका यस निर्वाचन क्षेत्रमा पर्छन् । गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा यी स्थानीय तहको ३० वटा वडामध्ये नेपाली कांग्रेसले १६ वडामा जित हात पारेको थियो भने माओवादी र एमाले ७र७ वटा वडामा विजयी भएका थिए ।

    स्थानीय तहको निर्वाचनमा यो क्षेत्रको वडाहरुमा वडाध्यक्षले पाएको मत हेर्दा नेपाली कांग्रेस सबैभन्दा अगाडि छ भने एमाले दोस्रो र माओवादी तेस्रो स्थानमा छ ।

    स्थानीय तहको निर्वाचनमा कांग्रेसको वडाध्यक्षले १९ हजार ७२, एमालेको वडाध्यक्षले १३ हजार पाँचसय ८३ र माओवादीको वडाध्यक्षले ११ हजार ७१ मत पाएका थिए ।

    यो तथ्यांक हेर्दा कांग्रेस एक्लै पनि एमालेभन्दा अगाडि छ भने माओवादीसँग मत जोड्दा कुल मत संख्या ३० हजार एकसय ४३ पुग्छ । स्थानीय तहको निर्वाचनमा वडाध्यक्षको मत परिणामको आँकडा हेर्दा लोकतान्त्रिक बाम गठबन्धन एमाले भन्दा १६ हजार पाँचसय ६० मतले अगाडि देखिन्छ ।


    images
    images

    Logo