images
images

विद्युतीय भुक्तानीबाट हुने कारोबार बढ्दो


  • 281
    SHARES
  • २०७९ कार्तिक ३० गते बुधबार

    विद्युतीय भुक्तानीबाट हुने कारोबार बढ्दो

    काठमाडौं । प्रविधिको प्रयोग र पहुँच बढेसँगै पछिल्लो समय विद्युतीय भुक्तानीमा वृद्धि भएको छ ।  केन्द्रीय बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको तीन महिनासम्मको मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी तथ्याङ्कानुसार विद्युतीय भुक्तानीमा वृद्धि भएको पाइएको हो । 

    गत आर्थिक वर्षको तुलनामा चालु आर्थिको पहिलो ३ महिनामा विद्युतीय भुक्तानीको प्रयोगमा उल्लेख्य वृद्धि भएको देखिन्छ । यस्तो कारोबारमा एटिएम, विद्युतीय भुक्तानी प्रणाली, कनेक्ट आइपीएस, मोबाइल बैंकिङ, वालेट, प्रिपेड कार्ड, क्युआर कोडलगायतको प्रयोग बढेको छ  ।
           
    सार्वजनिक तथ्याङ्कानुसार गत आवमा क्विक रेस्पोन्स (क्युआर) कोडमा आधारीत भुक्तानीको प्रयोग उच्च दरले बढेको देखिन्छ । गत आर्थिक बर्षको पहिलो तीन महिनामा क्युआर कोडको प्रयोग गरी ६ अर्ब ९ करोड ७० लाखको कारोबार भएकामा चालु आर्थिक बर्षको समिक्षा अवधिमा यसको प्रयोग गरी १७ अर्ब ३३ करोड ७० लाख रुपैयाँको कारोबार भएको छ ।

    त्यस्तै चालु आर्थिक बर्षको असोज मसान्तसम्म प्रिपेड कार्डको मध्यमबाट ४३ करोड ६० लाख रुपैयाँको कारोबार भएको छ । यस्तो कार्डको प्रयोगबाट अघिल्लो आर्थिक बर्षको सोही अवधिमा १५ करोड ३० लाख रुपैयाँको कारोबार भएको थियो ।

    केन्द्रीय बैंकका अनुसार कारोबारमा मोबाइल बैंकिङको प्रयोग गत आवको तुलनामा बढेको छ । गत आवको असोज मसान्तसम्म मोबाइल बैंकिङको प्रयोग गरी ८७ अर्ब ७३ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएकामा चालु आर्थिक बर्षको सोही अवधिमा १ खर्ब ६२ अर्ब १३ करोड ७० लाख रुपैयाँ पुगेको छ ।
           
    त्यस्तै चालु आर्थिक बर्षको पहिलो तीन महिनामा एटिएमको प्रयोग गरी ८८ अर्ब ८९ करोड ६० लाख रुपैयाँको कारोबार भएको छ । यसको प्रयोगगरी गत आर्थिक बर्षको सोही अवधिमा रु ७६ अर्ब ५३ करोड ७० लाखको कारोबार भएको छ । 
           
    त्यस्तै समीक्षा अवधिमा कनेक्ट आइपिएसको प्रयोगबाट हुने कारोबार २८ दशमलव ४८ प्रतिशतले बढेको छ । अघिल्लो आवको पहिलो तीन महिनामा २ खर्ब ३९ अर्ब १४ करोड ८० लाख रुपैयाँको कारोबार भएकोमा चालु आर्थिक बर्षको समीक्षा ३ खर्ब सात अर्ब २७ करोड ५० लाखको कारोबार भएको छ ।
          
    राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको पहिलो तीन महिनामा वालेटमार्फत १६ अर्ब ५६ करोड ८० लाख रुपैयाँको कारोबार भएको छ । यसको प्रयोग गरी गत आवको सोही अवधिमा १५ अर्ब १८ करोड ७० लाख रुपैयाँको कारोबार भएको थियो । विवरणानुसार अघिल्लो आर्थिक बर्षका आधारमा चालु आर्थिक बर्षको असोज मसान्तसम्म इन्टरनेट बैंकिङका माध्यमबाट हुने भुक्तानीमा भने कमी आएको देखिएको छ ।

    गत आर्थिक बर्षको पहिलो तीन महिनामा इन्टरनेट बैंकिङको प्रयोग गरी १३ अर्ब ३४ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार भएकामा चालु आर्थिक बर्षको समीक्षा अवधिमा ११ अर्ब ९५ करोड ९० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

    विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास, विद्युतीय भुक्तानी कारोबारका लागि गरीएको प्रोत्साहन र सर्वसाधारणको विद्युतीय भुक्तानी उपकरण प्रयोगमा बढ्दो अभ्यासका कारण मुलुकमा विद्युतीय भुक्तानी कारोबार उल्लेख्य बढेको केन्द्रीय बैंकले जनाएको छ  ।

     


    images
    images

    Logo