काठमाडौं । यसवर्ष दसैँ, तिहारलगायतका ठूला चाडवाड सकिने वित्तिकै चुनावी माहोल सुरु भयो । चाडवाडका बेला व्यापारमा उत्साह देखिन्छ । त्यसमाथि चुनावका बेला उपभोक्ता बजार गुल्जार हुनपर्ने हो । तर बजारमा खासै उत्साह नदेखिएको व्यवसायीले बताएका छन् । चर्को मूल्यवृद्धिको मारले अहिले खपतमा बढ्न नसकेको उनीहरुको भनाइ छ ।
अहिले खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुमा अधिक मूल्यवृद्धि देखिएको तर खपत भने नबढेको खुद्रा व्यापार सङ्घका अध्यक्ष पवित्र बज्राचार्य बताए । व्यापारीले विभिन्न समयमा विभिन्न बहानामा खाद्य तथा दैनिक उपभोग्य वस्तुको मूल्य बढाउने तर घट्ने बेलामा भने नघटाउने गरेको उनको बुझाइ छ । पछिल्लो समय खानेतेल, चामल, मैदालगायत खाद्यान्न वस्तुमा धेरै मूल्यवृद्धि भएको छ ।
“खाने तेल प्रतिलिटर ३५ देखि ४० सम्म रुपैयाँ बढेको छ । मैदा पनि प्रतिकेजी १५ रुपैयाँ सम्म बढेको छ । भारतले निर्यातमा कडाइ गरेपछि चामलको मूल्य बोरामै दुईदेखि तीन सयसम्म बढे पनि अहिले अवस्था सहज हुँदा घटेको छैन”, उनले भने ।
कोरोना महामारी, रुस-युक्रेन युद्धलगायत विषम परिस्थितिका बेला भएको मूल्यवृद्धि अहिले अवस्था सामान्य भइसक्दा पनि घट्न नसकेको उनको भनाइ छ । यसरी सामान्य अवस्थामा पनि मूल्यवृद्धि हुनुमा नियामक निकाय कमजोर भएको बज्राचार्य बताए ।
“चुनाव लागेपछि बजारमा सरकारको उपस्थिति हुँदैन । नियामक निकाय कमजोर हुन्छन्,” बज्राचार्य भने, “मूल्य बढ्नुमा अर्को शङ्का के पनि छ भने, राजनीतिक दल र चुनावमा उठेका उम्मेदवारलाई चन्दा दिनुपर्ने भएपछि त्यसको बदलामा व्यवसायीले उपभोग्य सामग्रीको मूल्यवृद्धि गरे ।”
मू्ल्यवृद्धि भएपछि उपभोक्ताको क्रयशक्ति कम हुन्छ । कोभिड महामारी, रुस–युक्रेन युद्ध, अमेरिकी डलरको भाउ वृद्धिलगायतका विभिन्न कारण देखाउँदै व्यापारीले उपभोग्य सामग्रीमा मूल्य बढाएका थिए । तर अहिले आपूर्ति शुुङ्खला सामान्य अवस्थामा रहँदा पनि मूल्यवृद्धि कायमै छ । विभिन्न कारण देखाएर मूल्यवृद्धि गर्ने व्यापारीले अवस्था सामान्य भएको अवस्थामा भने मूल्य घटाउँदैनन् ।
खुद्रा व्यापार सङ्घको खाद्यान्न मूल्यसूची अनुसार पछिल्लो एकवर्ष अवधिमा खानेतेलको मूल्यमा दोब्बरको वृद्धि देखिएको छ । यो अवधिमा भुटेको तोरीको तेल प्रतिलिटर २ सय २० बाट बढेर ३ सय ५० रुपैयाँ, काँचो तोरीको तेल प्रतिलिटर १ सय ४० रुपैयाँ बाट १ सय ४०, भटमास तेल प्रतिलिटर रु एक सय १५ बाट दुई सय ३०, सूर्यमुखी तेल प्रतिलिटर रु एक सय २५ बाट दूई सय ४० सम्म पुगेको छ ।
त्यसैगरी चामलमा प्रतिकिलो १० देखि २० रुपैयाँ, मास दात प्रतिकिलो ३० रुपैयाँ, मुसुर दाल प्रतिकिलो ५० रुपैयाँ, मुग दाल प्रतिकिलो ४० रुपैयाँ, रहर दाल प्रतिकिलो ७० रुपैयाँसम्म बढेको छ । त्यसैगरी, भटमासमा प्रतिकिलो ४० देखि ५० रुपैयाँ, केराउ प्रतिकिलो ६० देखि ७० रुपैयाँ, सिमी प्रतिकिलो २० देखि ३० रुपैयाँसम्म मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार अहिले तरकारीको मूल्य र खपत दुवैको अवस्था स्वभाविक छ ।
हाल बर्खायाममा फल्ने तरकारी र फलफूलको मौसम सकिएर हिउँदे तरकारी तथा फलफूलको मौसम सुरु भएकाले सोहिअनुसार आपूर्ति भइरहेको समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए ।
“कालीमाटीमा दैनिक औसत ८ सय मेट्रिक टन तरकारी र फलफूल आउने गरेको छ । अहिले पनि त्यही अनुपातमै आइरहेको छ । बजार माग बढेको वा बढी सामान आएको भन्ने अवस्था अहिले छैन”, श्रेष्ठले भन्नुभयो । समितिको विवरणअनुसार मङ्गलबार सात लाख ५२ हजार ४ सय ४२ किलो तरकारी र फलफूल आएको छ ।
त्यस्तै, सोमबार ८ लाख २७ हजार ९ सय ९६ किलो र आइतबार ५ लाख ८९ हजार ४ सय ४८ किलो फलफूल र तरकारी कालीमाटीमा आएको देखिन्छ । सरकारले चालु आर्थिक वर्षमा मूल्यवृद्धि ७ प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने लक्ष्य लिएको छ ।
चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासिक अवधिमा मूल्यवृद्धि ८ दशमलव ५० प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसारअसोज महिनासम्ममा वार्षिक बिन्दुगत उपभोक्ता मूल्यवृद्धि आठ दशमलव ५० प्रतिशत पुगेको हो ।
राष्ट्र बैंकका अनुसार तराई क्षेत्रमा मूल्यवृद्धि चर्को छ । पहिलो त्रैमासिक विवरणअनुसार काठमाडौँ उपत्यकामा ६.९३ प्रतिशत, तराईमा ९.४२ प्रतिशत, पहाडमा आठ दशमलव ८४ प्रतिशत र हिमालमा ७.०७ प्रतिशत महंगी बढेको छ ।
यो अवधिसम्ममा खाद्य तथा पेय पदार्थको मुद्रास्फीति आठ दशमलव ०५ प्रतिशत र गैर–खाद्य तथा सेवा क्षेत्रको मुद्रास्फीति ८.८५ प्रतिशत रहेको छ । त्यस्तै, रेष्टुराँ तथा होटल क्षेत्रको वार्षिक बिन्दुगत मुद्रास्फीति १५.९१ प्रतिशत, फलफूलको १२.०६ प्रतिशत, मदिराजन्य पेय पदाथको १० दशमलव २४ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको नौ दशमलव ४५ प्रतिशत र सुर्तीजन्य पदार्थको ८.४४ प्रतिशत रहेको छ ।
सेवा समूह अन्तर्गत यातायात क्षेत्रको मुद्रास्फीति २१.१५ प्रतिशत, स्वास्थ्य क्षेत्रको १०.५४ प्रतिशत, फर्निसिङ्ग तथा घरायसी उपकरणहरुको ९.४५ प्रतिशत र शिक्षाको ८.११ प्रतिशत छ । राष्ट्र बैंकका अनुसार असोज महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति १३.७३ प्रतिशत रहेको छ ।



