काठमाडौं । नयाँबानेश्वरको व्यस्त चोकमा म्यादी प्रहरीको जिम्मेवारीमा खटिनुभएकी सरिता भुजेल सडकमा सवारी साधनको अत्यधिक चाप हुँदा आकासे पुलको प्रयोग गर्न नसक्ने वृद्धवृद्धालाई सडक वारपार गर्न सहयोग गरे । उनीको आजभोलिको दैनिकी म्यादी प्रहरीको पोशाकमा हातमा लठ्ठी समातेर नयाँबानेश्वर चोकमा ट्राफिक व्यवस्थापन गर्न र नजिकै रहेको आकासे पुल चढ्न नसक्ने वृद्धवृद्धालाई सडक वारपार गर्न सघाउने गर्दा बित्ने गरेको छ ।
मङ्सिर ४ गते हुने निर्वाचन सकिएसँगै म्यादी प्रहरीको ४० दिनको जिम्मेवारी पनि सकिन्छ । सरितासँग रोजगारीको अन्य कुनै विकल्प नभएको सुनाउँदै भने, “निर्वाचनपछि त्यही पुरानो दैनिकीमा फर्किन्छु ।”
नयाँबानेश्वरको व्यस्त चोकमा सडक पार गर्न आकासे पुल छ । तर कतिपय पैदलयात्रु गुडिरहेका सवारीको भीडमै सडक वारपार गर्छन् । नीलो पोसाकमा लट्ठी हातमा लिएर डिउटीमा खटिएका म्यादी प्रहरीको समूहले सिठ्ठी फुक्छन् । तर पनि पैदल यात्रु उनीहरुले फुकेको सिठ्ठीको आवाजलाई कुनै वास्तै गर्दैनन् ।
“हामी म्यादी प्रहरीलाई पैदल यात्री र सवारी चालकले पनि अटेर गर्छन् । हामीले भन्दा उनहरु (पैदलयात्रु र सवारी चालक) हाँस्नु हुन्छ, मान्नु हुन्न”, २१ वर्षिय म्यादी प्रहरी शङ्कर बोहराले आफ्नो काम गर्दाको अनुभव सुनाउँदै भने । नयाँबानेश्वर चोकमा खटिनुभएका अर्का म्यादी प्रहरी मनोज कुवरले सँगैको साथी बोहराको भनाइमा सहमति जनाउँदै थपे , “कतिले त म्यादी भनेर गिज्याउनु हुन्छ ।”
उनीहरु दुवैजना बैतडीका स्थानीय बासिन्दा हुनुहुन्छ । काठमान्डौँ बसेर अध्ययनरत दुवै विद्यार्थी हुन् । अध्ययनका र रोजगारीका सिलसिलामा काठमाडौँ छिरेका दुवैजना सँगै डेरामा बस्छन् । मनोज शिक्षण पेसाभन्दा म्यादी प्रहरीमा धेरै पारिश्रमिक पाउने भएपछि भर्ना भएको बताए । शङ्कर भने यसअघिको स्थानीय निर्वाचनमा पनि म्यादी प्रहरीमा भर्ना भएर जिम्मेवारी निर्वाह गरिसका छन् ।
मनोज र शङ्कर दुवैजना म्यादी प्रहरीको जिम्मेवारी सकिएपछि वैदेशिक रोजगारीमा जाने सोच बनाएको बताए । “नेपाल प्रहरीमा भर्ती हुने इच्छाले म्यादीसम्म डोर्यायो । तर अब प्रहरीमा भर्ती हुन उमेरले नमिल्ने भएकाले विदेश जाने सोचमा छु,” शङ्करले भने । काठमाडौँको सामान्य घर भाडा तिर्नसमेत धौ धौ हुने भएकाले निर्वाचनलगत्तै जुन देश जाँदा कम लगानी लाग्छ त्यहीँ जाने सोचमा रहेको मनोजले बताए।
काठमाडौँमा नियमित खटाइएका ट्राफिक प्रहरी निर्वाचनका कारण बाह्य जिल्लामा थप मद्दतका लागि पठाइएका अवस्थामा उपत्यकाको ट्राफिक व्यवस्थापनको समेत सहयोगका लागि परिचालन गरिएको नेपाल प्रहरीका प्रवक्ता, प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले बताए । अहिले काठमाडौँमा करिब चार सय ट्राफिक प्रहरी खटिएका र बाँकी म्यादी प्रहरीहरुको सहयोगमा सवारी व्यवस्थापनको काम भइरहेको उनले बताए ।
देशभर निर्वाचन सुरक्षाका लागि एक लाख १५ हजार म्यादी प्रहरी खटिइएका छन् । ८४ हजार ३ सय ६८ पुरुष छन् भने ३० हजार ६ सय ३२ महिला रहेका छन् । काठमाडौँमा अहिले ३ हजार २सय ७८ म्यादी प्रहरी छन् । आवश्यतानुसार मतदानस्थल, मोबाइल र रिजर्भमा समेत परिचालन गरिनेछ ।
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचलाई शान्तिपूर्ण, भयरहित, स्वतन्त्ररुपमा सम्पन्न गर्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान संयुक्त रुपमा परिचालन गरिएको छ । नेपाल प्रहरीअन्तर्गत म्यादी प्रहरीको परिचालन गरिएको हो । म्यादी प्रहरीहरु मतदानस्थलको सुरक्षा, मतदान बक्सको सुरक्षा र नेपाल प्रहरीले गर्ने दैनिक कार्य गस्ती, निगरानी, सूचना सङ्कलन, घटनास्थलको सुरक्षा र ट्राफिक व्यवस्थापनको जिम्मेवारीमा खटिरहेका छन ।
म्यादी प्रहरीलाई नेपाल प्रहरी जवानसरह आधारभूत तलब मासिक २२ हजार ६ सय ८० रुपैयाँ हुनेछ । बढीमा ४० दिनसम्मका लागि जम्मा ३० हजार २ सय ४० रुपैयाँ हुनेछ । साथमा खाद्यान्नबापत ७ हजार २ सय र पोसाक तथा अन्य सामानका लागि ६ हजार रुपैयाँ सरकारले उपलब्ध गराएको छ ।
म्यादी प्रहरीका लागि बीमाको व्यवस्थासमेत गरिएको छ । प्रहरी प्रवक्ता राईले म्यादी प्रहरीलाई मतदानका दिन अधिकांश बुथमा खटाइने बताए । प्रहरी जवानमा भर्ना खुल्दा नेपाल प्रहरीले म्यादी प्रहरीमा भर्ना भएको अनुभवलाई प्राथमिकतामा राख्ने गरेको छ ।



