भक्तपुर । भक्तपुरमा पानी ट्याङ्करको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आइतबार साँझ सल्लाघारीमा पानी ट्याङ्करमा मोटसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
अर्का एक गम्भीर घाइते भएका छन् । बागमती प्रदेश०२–०३१प ७८६२ नं को मोटरसाइकल बा४ख ४२६८ नंको पानीट्याङ्करमा ठोक्किँदा मोटरसाइकल चालक मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली बस्ने २६ वर्षीय साजन दुवारीको मृत्यु भएको हो ।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेका अनुसार, मोटरसाइकलमा सवार झापा घर भई हाल मध्यपुरथिमि –३ बस्ने २३ वर्षीय अनिल साहको इवामुरा मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीले दुवै सवारीसाधन र ट्याङ्कर चालक भक्तपुर नगरपालिका–२ ब्यासी बस्ने २८ वर्षीय प्रवीण सुवाललाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।



