images
images

गन्तव्य मुलुकबाटै श्रम स्वीकृति नवीकरण गराउन श्रम मन्त्रालयको आग्रह


  • 363
    SHARES
  • २०७९ कार्तिक २९ गते मंगलबार

    गन्तव्य मुलुकबाटै श्रम स्वीकृति नवीकरण गराउन श्रम मन्त्रालयको आग्रह

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा रहेका सम्पूर्ण श्रमिकलाई श्रम स्वीकृतिको अवधि समाप्त हुनु अगावै आफू कार्यरत मुलुकाबाट श्रम स्वीकृति नवीकरण गर्न आग्रह गरेको छ । 

    अवधि सकिएपछि श्रम स्वीकृति नवीकरण नगरेको अवस्थामा वैदेशिक रोजगारीमा रहँदा मृत्यु भएका कतिपय नेपाली श्रमिकका परिवारले पाउने कल्याणकारी सेवा सुविधा उपभोग गर्न नपाएको देखिएको जनाउँदै मन्त्रालयले श्रम स्वीकृतिको अवधि समाप्त हुनु अगावै नवीरण गर्न आग्रह गरेको हो । 

    वैदेशिक रोजगार विभागको वेभसाइटबाट जुनसुकै मुलुकमा भए पनि श्रम स्वीकृति नवीकरण गर्न सकिन्छ । आफ्नो श्रम स्वीकृतिको म्याद रहे/नरहेको व्यहोरा विभागको उक्त वेबसाइटमा गई जाँच गर्न सकिन्छ । म्याद समाप्त भएको वा हुने अवस्थामा रहेको श्रम स्वीकृति नवीकरण गर्नुपर्छ ।

    वैदेशिक रोजगार कल्याणकारी कोष र बीमावापत दाखिला गर्ने रकम सम्बन्धित देशमा रहेको आफ्नो बैंक खाताबाट नेपालमा रहेको वैदेशिक रोजगार बोर्ड र सम्बन्धित बीमा कम्पनीको खातामा रकम पठाउन सकिने व्यवस्था मिलाइएको मन्त्रालयका सहप्रवक्ता डा थानेश्वर भुसालले जानकारी दिए ।

    एकपटक श्रम स्वीकृति लिई विदेशमा रोजगारीमा गएपछि श्रम स्वीकृतिको अवधि कायमै रहेको अवस्थामा नेपालमा फर्की पुनः सोही मुलुकको सोही काममा जाँदा पुनः श्रम स्वीकृति लिनु नपर्ने तर एकपटक लिएको श्रम स्वीकृतिको अवधि समाप्त भएपछि पुनःविदेशमा रोजगारीको लागि जानुपरेमा श्रम स्वीकृति नवीकरण गर्नुपर्ने व्यवस्था छ । 

    सरकारले वैदेशिक रोजगार ऐन, २०६४ संशोधन गरी श्रमिकले आफू कार्यरत मुलुकबाटै श्रम स्वीकृति नवीकरण गर्न सक्ने व्यवस्था गरेको थियो । वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकले अनिवार्य रूपमा श्रम स्वीकृति लिनै पर्ने व्यवस्था छ । 

    ऐनले विदेशमा रोजगारीमा रहँदा मृत्यु भएमा श्रम स्वीकृति लिँदा वैदेशिक रोजगार कल्याणकारी कोषमा दाखिला गरेको रकम र विदेश जानुपूर्व नेपालमा नै गरेको बीमाबाट निज मृतकको शवको व्यवस्थापन गर्ने र परिवारलाई क्षतिपूर्ति दिने व्यवस्था गरेको छ ।

     श्रम स्वीकृतिको अवधि सकिएपछि विदेशमा कुनै पनि कारणले मृत्यु भएमा वा गम्भीर बिरामी भएमा कानुन बमोजिम वैदेशिक रोजगार कल्याणकारी कोषको रकम र बीमवापतको रकम दाबी गर्न नसकिने मन्त्रालयले जनाएको छ । 


    images
    images

    Logo