काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गर्ने दुई जना व्यक्तिविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । मुद्दा दायर हुनेमा काठमाडौं १४ रहेको अंकुश सप्लायर्स एण्ड ट्रेडर्स प्रोपराइटर विष्णु कुमार महतो र भवानीपुर ८ स्थायी ठेगाना भएका युनिक ट्रेडर्स एण्ड ईन्टरप्राइजेजका प्रोपराइटर आत्मराम पासवन रहेका छन् ।
विभागका अनुसार अंकुश सप्लायर्स एण्ड ट्रेडर्स र युनिक ट्रेडर्स एण्ड ईन्टरप्राइजेजका प्रोप्राईटरले राजस्व चुहावट गर्ने मनसायले जालसाजीयूक्त, नक्कली तथा झुट्टा मूल्य अभिबृद्धि कर विजक खरिद गरी बित्तीय विवरणहरु तथा आय विवरणहरु तयार गरी तिर्नुपर्ने कर नतिरी राजस्व चुहावट गरेको छ ।
विभागले मूल्य अभिवृद्धि कर तर्फ ५ करोड ४१ लाख ५९ हजार २९ रुपयाँ र आयकर तर्फ १७ करोड २२ लाख २१ हजार ९ सय ९४ रुपैयाँ सहित कुल विगो २२ करोड ६३ लाख ८१ हजार २३ रुपैयाँ राजस्व चुहावट गरेको र उक्त रकम असुल गरी शत प्रतिशत जरिवाना असूल गर्न उच्च अदालत पाटन ललितपुरमा मुद्दा दायर गरेको विभागले जनाएको छ ।



