काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि ललितपुर क्षेत्र नं १ मा उदयशम्शेर राणा र नवराज सिलवालसहित २१ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् । विभिन्न दलबाट ११ र १० जना स्वतन्त्र उम्मेदवारमध्ये मुख्य प्रतिस्पर्धा पाँचदलीय गठबन्धनका तर्फबाट उम्मेदवार हुनुभएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य राणा र नेकपा एमालेका उम्मेदवार सिलवालबीच नै हुने देखिन्छ ।
राणा र सिलवालबाहेक ललितपुर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा सचिन घिमिरेले उम्मेदवारी दिनुभएको छ । यस्तै, आमूल परिवर्तन मसिहा पार्टी नेपालका तर्फबाट विष्णु लामा, राष्ट्रिय जनमुक्ति पार्टीबाट बालकृष्ण घिमिरे, नेसनलिष्ट पिपल्स पार्टीबाट सुभद्रा महर्जन, मङ्गोल नेसनल अगर्ननाइजेसनबाट सूर्य तामाङ बल, लोकतान्त्रिक समाजवादीबाट मनिषबहादुर श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीका तर्फबाट कवीन्द्र डङ्गोल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सन्दीप आचार्य र जनता समाजवादी पार्टी नेपालबाट गोपालराज राईले उम्मेदवारी दिएका छन् ।
राजनीतिक दलबाहेक कृष्णकाजी महर्जन, शैलेन्द्र बिष्ट, गोकुल तिमल्सिना, भूपेन्द्र सिलवाल, विशाल तामाङ, नवराज घिमिरे, फूलमाया गोले, राजकुमार तिमिल्सिना, सुमन भुम्जन र गोविन्द घिमिरे केसीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
गोदावरी नगरपालिकाको १ देखि ११ सम्म र वडा नं १३ गरी १२ वटा वडा, बागमती, महाङ्काल, कोन्ज्योसोम गाउँपालिकाको पूरै भेगका १८ वडासमेत गरी ३० वटा वडा रहेको यो क्षेत्रमा ७४ हजार ३ सय ९७ मतदाता रहेका छन् । जसअनुसार ३७ हजार २ सय २७ पुरुष, ३७ हजार १ सय ६९ महिला र अन्य एकजना रहेको जिल्ला निर्वाचन कार्यालय ललितपुरले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।
पुरानै प्रतिस्पर्धी राणा र सिलवाल दुवैले सांसदका रूपमा एक कार्यकालको अनुभव बटुलिसक्नुभएको छ । २०७० सालमा संविधानसभा सदस्यमा यसै क्षेत्रबाट निर्वाचित हुनुभएका राणालाई २०७४ को प्रतिनिधिसभा निर्वाचनमा सिलवालले पराजित गरे ।२०७० साल मा राणाले १८ हजार ५ सय ६० मत ल्याएर जीत हासिल गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार मधुसूदन पौडेलले १० हजार ६ सय ८२ मतमात्र प्राप्त गरेका थिए। नेपाल प्रहरीको आइजिपीको प्रतिस्पर्धामा असफल भएपछि सोही असोजमा डिआइजीबाट राजीनामा दिएर एमालेमा प्रवेश गरी राजनीतिमा होमिनुभएका सिलवाल पहिलो प्रयासमै सांसद बन्न सफल भएको थिए । राणा त्यसबेला अर्थ राज्यमन्त्री रहेका थिए ।
दोस्रो पटक चुनावी प्रतिस्पर्धामा रहनुभएका राणा र सिलवालबीच गत निर्वाचन र अहिलेमा समीकरणमा नै अदलबदल भएको छ । अघिल्लो निर्वाचनमा एमालेका उम्मेदवार सिलवाललाई समर्थन गरेको नेकपा (माओवादी केन्द्र) ले यस पटक नेपाली कांग्रेससँग गठबन्धन गरेको छ । गत निर्वाचनमा सिलवालले २६ हजार ९ सय ५१ मत ल्याएर विजयी हुँदा कांग्रेसका उम्मेदवार राणाले २० हजार सात सय २९ मत पाएका थिए । २०६५ सालदेखि यस क्षेत्रमा नेपाली कांग्रेसबाट उम्मेदवार हुनुभएका राणा चौथो पटक चुनावी मैदानमा हुनुहुन्छ भने सिलवाल दोस्रो पटक प्रतिस्पर्धा गर्दै हुन्छ । २०६५ साल मा माओवादीका उम्मेदवार वर्षमान पुनसँग पराजित हुनुभएका राणले २०७० को निर्वाचनमा एमालेका उम्मेदवार पौडेललाई पराजित गर्दै संविधानसभाको सदस्य हुने अवसर पाउनु भएको थियो ।
उदय शम्शेरभन्दा पहिला उहाँका पिता सागरशमशेर राणा नेपाली कांग्रेसका तर्फबाट यो क्षेत्रबाट उम्मेदवार बन्दै आउनुभएको थियो । आफूले कहिल्यै जीत हासिल गर्न नसकेपछि छोरोलाई राजनीतिमा स्थापित गरेर उहाँले राजनीतिबाट आराम लिए । बहुदलीय व्यवस्था आएपछि २०४८ र २०५१ मा एमालेका उम्मेदवार मिठाराम शर्मा बजगाइँसँग पराजित भएका उनले २०५६ सालको आम चुनावमा पनि एमालकै उम्म्मेदवार सुशीला नेपालसँग हार बेहोर्नु पर्यो ।
राणाले आफू राज्यमन्त्री हुँदा गरेका काम नै आसन्न निर्वाचनका लागि जीतको बलियो आधार मानेका छ । “म आफू सांसद हुँदा र नहुँदा पनि यस क्षेत्रको विकासमा निरन्तर क्रियाशील भएर काम गरेको छु । यही आधारमा पनि यहाँका मतदाताले मलाई विश्वास गरेर मत दिन्छन्”, राणा भने ।
उता सिलवालले पनि गत निर्वाचनमा आफू सांसद भएपछि गरेका कामहरू नै आफ्नो जीतको आधार भएको दाबी गरिरहनुभएको छ । “मैले सांसद भएर अघिल्लो कार्यकालमा धेरै काम गरेको छु, यहाँका जनताको सुखदुःखमा साथ दिएको छु । त्यसकारण पनि जनताले मलाई विश्वास गरेर मत दिनेछन् ।”
गत स्थानीय चुनावमा कूल ३० वटा वडामध्ये २२ वटा वडामा कांग्रेसले, पाँचवटा वडामा माओवादी केन्द्रले र तीनवटा वडामा एमालेका उम्मेदवारले वडाध्यक्ष जीत हासिल गर्नुभएको छ । यो क्षेत्रमा स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले २३ हजार ८ सय ५४, एमालेले १८ हजार ९ सय ९३, माओवादीले ६ हजार १ सय ३३ र राप्रपाले १ हजार ७५ मत प्राप्त गरेको छ ।



