images
images

महेश बस्नेतको घोषणा : ‘बाँकी सम्पूर्ण जीवन राष्ट्रको लागि’


  • 273
    SHARES
  • २०७९ कार्तिक २७ गते आइतबार

    महेश बस्नेतको घोषणा : ‘बाँकी सम्पूर्ण जीवन राष्ट्रको लागि’

    भक्तपुर । नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभाका उम्मेदवार महेश बस्नेतले आफ्नो बाँकी सम्पूर्ण जीवन राष्ट्रको लागि हुने घोषणा गरेका छन् ।

    आज मध्यपुर थिमी नगरपालिका वडा नं। ३ कौशलटारमा क्षेत्र नं. २ ‘ख’ प्रदेश स्तरीय आमसभालाई सम्बोधन गर्दै नेता बस्नेतले अब आफ्नो सम्पूर्ण ध्यान भक्तपुर र राष्ट्रको विकास र समृद्धिको लागि हुने बताए । 

    आफु र २ नं. क्षेत्रका एमालेको उम्मेदवारको लोभ भनेको नै विकास र समृद्धिको साथमा जनताको चाहना पुरा गर्नु रहेएको उल्लेख गर्दै उनले बाँकी जीवन राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाधिनताको पक्षमा रही देश विकासमा लाग्ने घोषणा गरे । आफुले कुनै पनि कुराको नेतृत्व गर्दा आर्थिक लोभमा कहिले पनि नपरेको उल्लेख गर्दै अबका दिनमा अझ बढी सक्रियताका साथ नेपाललाई विकसित राष्ट्र बनाउन लाग्ने बताए।

    उनले भने, ‘मेरो त घरमा बा आमाले कहिले काहीँ खाना नखाई पुग्यो र खाना छ कि छैन भनेर सोध्यो भने पनि खबर नै गरिनस् भन्नुहुन्छ । परिवारले समेत महेश बस्नेत राष्ट्रको छोरो, दाई, भाई भइसक्यो भन्ने बुझ्नुभएको छ । त्यसैले अब मेरो जीवनको बाँकी समय राष्ट्रको लागि हुनेछ । राष्ट्रको हितको लागि काम गर्दा कुनै प्रकारको लोभ लालच तथा आर्थिक अनियमितता, भ्रष्टाचार म बाट हुने छैन । म भ्रष्टाचार गर्दिन र गर्न दिन्न भन्ने हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको प्रतिवद्धतालाई शतप्रतिशत पुरा गर्नेछु ।’

    जनताको मागलाई शतप्रतिशत पुरा गर्ने प्रतिवद्धता जनाउँदै नेता बस्नेतले भक्तपुरको विकासको ब्राण्डेड पार्टी भनेको नै एमाले मात्र भएको दाबी गरे । गठबन्धनका दलहरुले विकास र समृद्धिको वारेमा जानकार समेत नरहेको उल्लेख गर्दै उनले गठबन्धन सरकार बनेको १८ महिनामा भक्तपुरमा कति बजेट आयो ? भनि प्रश्न गरे । केपी ओली नेतृत्वको सरकारको पालामा भक्तपुरमा संघीय सरकारबाट मा २६ अर्वभन्दा बढी बजेट ल्याई पूर्वाधारका क्षेत्रमा ऐतिहासिक कामहरु गरेको जनतालाई प्रष्ट रहेको उल्लेख गर्दै उनले ‘जहाँ एमाले त्यहाँ विकास’ भन्ने अभियान नै चलाएको स्मरण गराए ।

    जनताले टर्च बालेर भक्तपुरमा गठबन्धन दल तथा नेताहरु छन् कि छैनन् भनि जनताले खोजिरहेको उल्लेख गर्दै उनले एमाले जनताको सल्लाह बमोजिम चल्ने पार्टी भएकाले जनताको सुझावको आधारमा नै एमालेका उम्मेदवारको प्रतिवद्धता हुने बताए । भक्तपुरमा बेसिक लेभलको भौतिक पूर्वाधारको क्षेत्रमा विकास गरेको उल्लेख गर्दै उनले आगामी दिनमा एड्भान्स लेभलको विकास गर्ने प्रतिवद्धता जनाए ।

    भक्तपुरमा खानेपानी, सडक, ढल, स्वास्थ्य, शिक्षा, पर्यटन, धर्म, संस्कृति, परम्परा, कला लगायतका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको दावी गर्दै उनले आगामी दिनमा जनताको माग, चाहना र आवश्यकतालाई ध्यान दिँदै भक्तपुरको विकासलाई आधुनिकतामा रुपान्तरण गर्ने बताए। 

    भक्तपुरको विकासमा एमालेले बोलेको कुरा पुरा गर्नेमात्र नभई बोनस समेत दिने पार्टी भएको उल्लेख गर्दै भक्तपुरमा कांग्रेसले १५ वर्ष नेतृत्व गर्दा गरेको पाँच वटा कामको लिस्ट दिन चुनौति समेत दिए।

    गठबन्धनले भक्तपुरमा माओवादीलाई टिकट नदिएर अपमान गरेको उल्लेख गर्दै उनले माओवादी तथा नेकपा एकीकृत समाजवादी पार्टीले एमालेमा मतदान गर्नुपर्नेमा जोड दिए । मध्यपुर नगरपालिबाट कांग्रेसले समेत आफ्नो पार्टीबाट टिकट नदिएको उल्लेख गर्दै आगामी मंसिर ४ गते हुने निर्वाचनमा रुख हेरेर नभई मुख हेरेर एमालेलाई भोट दिनुपर्ने बताए ।

    कांग्रेसले भक्तपुरको विकास र समृद्धिलाई रोक्ने कार्य गरिरहेको उल्लेख गर्दै उनले हनुमन्ते करिडोर, क्यान्सर सेन्टरलगायतका धेरै योजनाहरुलाई अवरोध गरी निर्माण गर्न नदिएको स्पष्ट पारे । उनले भने, ‘कांग्रेसले आफु पनि विकास गर्दैन र अरुलाई गर्न पनि दिँदैन । काँक्रा चोरेर आफुले खान्छ अनि वियाँ चाही अर्काको मुखमा लगेर टासिदिन्छ र काँक्रा यसले चोरेको हो भन्छ ।’

    भक्तपुरमा कांग्रेसले आगामी निर्वाचनको लागि झुटा आश्वासन तथा आरोप प्रत्यारोप गरी भ्रमको खेती गरिरहेको उल्लेख गर्दै उहाँले कांग्रेसको विशेषता भनेको नै चुनाव अघि जनतालाई तारा झारिदिन्छु भन्ने र चुनाव पछि बङ्गरा झारिदिन्छु भन्ने भएकाले भक्तपुरका वौद्धिक जनताले मतदानमा सचेतनापूर्वक मतदान गर्नुपर्नेमा जोड दिए । 

    निर्वाचनको समयमा कांग्रेसले जनतालाई किन्ने प्रयास गरे एमालेका युवाले उक्त रकम खोसी सामाजिक सेवाका कार्यहरुपमा प्रयोग गर्ने उल्लेख गर्दै उनले भक्तपुरका जनतालाई भेडाबाख्रा जस्तो किनवेच गर्ने प्रयास नगर्न कांग्रेसलाई चेतावनी समेत दिए ।

    कार्यक्रममा प्रतिनिधिसभाका समानुपातिक उम्मेदवार गोविन्द दुलाल, प्रदेश ‘ख’ मध्यपुर क्षेत्रका प्रदेशसभाका उम्मेदवार चन्दनकृष्ण श्रेष्ठ, प्रदेश समानुपातिक उम्मेदवार सकुन्तला श्रेष्ठलगायतले बोलेका थिए । त्यस्तै कार्यक्रममा एमाले केन्द्रीय सदस् तथा भक्तपुर इन्चार्ज सोम मिश्र, केन्द्रीय सदस्य निर्मल भट्टराई, जिल्ला अध्यक्ष बचन देउजालगायतका नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो ।


    images
    images

    Logo