काठमाडौं। नेपाल धितोपत्र बोर्डको शेयर कारोबार रोक्कासम्बन्धी व्यवस्था लागु गरेको छ । बुधबार बसेको बोर्डको बैठकले यो निर्देशिका लागु गर्ने निर्णय गरेको हो । योसँगै आजदेखि मर्जरमा गएका कुनै पनि कम्पनीको कारोबार बढीमा १५ दिनमात्रै रोक्का हुनेछ ।
निर्देशिका लागु भए पनि हालसम्म मर्जर प्रक्रियामा गएर शेयर कारोबार रोक्का भएका कम्पनीको शेयर कारोबार भने स्वतः खुल्ने छैन । ती कम्पनीहरुले कारोबार खुलाउन नेप्से र सीडीएस एण्ड क्लियरिङ लिमिटेडलाई पत्र लेख्नुपर्छ ।
निर्देशिका लागु भएसँगै अब सम्बन्धित कम्पनीमध्ये अधिकांशले शेयर कारोबार खुलाउन पत्र लेख्ने सम्भावना छ । हाल ३४ वटा कम्पनीको शेयर कारोबार रोक्का अवस्थामा छ । मर्जर प्रक्रियामा रहेका ती कम्पनीहरुको संस्थापक शेयरको कारोबार भने फुकुवा हुने छैन ।



