काठमाडौं । मोरङ क्षेत्र नं ३ मा नेपाली काँग्रेसका लागि नयाँ निर्वाचन कार्यक्रम तोकिएको छ । प्रदेश नं. १ का मन्त्री समेत रहेका सो क्षेत्रका उम्मेदवारको निधनपछि नयाँ उम्मेदवार चनयको लागि निर्वाचन कार्यतालिका तोकिएको हो ।
मोरङ क्षेत्र नं ३ (क) मा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार रहेका शेखरचन्द्र थापाको बुधबार असामयिक निधन भएपछि आयोगले साे दलका लागि उम्मेदवार मनोनयनसहितका नयाँ निर्वाचन कार्यक्रम तय गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
नयाँ कार्यतालिका अनुसार कात्तिक २४ र २५ गतेभित्र मनोनयन दर्ता गर्नुपर्नेछ । २५ गते दाबी विरोध तथा अन्तिम नामावली सार्वजनिक गरिनेछ। मंसिर ४ मा हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि असोज २३ देखि निर्वाचन कार्यक्रम सञ्चालन भई उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई निर्वाचन चिह्नसमेत प्रदान भइसकेको थियाे।
मनोनयनकै दिनदेखि निमोनियाका कारण बिरामी परेका थापा नोबेल मेडिकल कलेजमा उपचाररत थिए। उपचारकै क्रममा डेंगु संक्रमण पनि भएपछि उनको बुधबार बिहान १०ः३० बजे निधन भएको थियो।



