काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा एक जना नायब सुब्बाविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले बझाङको सुर्मा गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय बझाङका तत्कालीन नायव सुब्बा शिवराज उपाध्यायविरुद्ध मुद्दा दायर गरिएको हो ।
उपाध्यायविरुद्ध १ करोड ५७ लाख रुपैयाँ बिगो कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप–पत्र दायर गरिएको आयोगले जनाएको छ ।
जसमा उपाध्यायले सार्वजनिक सेवामा रही आर्जित पारिश्रमिक बचत, निजको छोराको पारिश्रमीक वचत, जग्गा बिक्रीबाट प्राप्त, कर्जा आय, बिमा परिपक्व भै प्राप्त रकम र कृषि आयसमेत गरी जम्मा ४८ लाख ९ सय ११ रुपैयाँ आय आर्जन गरेको पाइएको छ ।
उक्त जाँच अवधिमा उनको ब्यय (खर्च तथा लगानी) तर्फ हेर्दा जग्गा खरिदमा, घर निर्माण, अध्ययन खर्च, कर्जाको साँवा ब्याज भुक्तानी, बिमाको प्रिमियम भुक्तानी, विद्युतीय उपकरण खरिद, सुन खरिद सवारी साधन खरिद, र बैंक मौज्दात समेत गरी जम्मा १ करोड ५७ लाख ५ हजार १ सय ३४ रूपैंया पच्चीस खर्च तथा लगानी गरेको देखिएको थियो । यससहित उनले समग्रमा १ करोड ९ लाख ४ हजार २ सय २२ रुपैयाँ मात्र आयभन्दा बढी खर्च तथा लगानी गरेको देखिएको थियो ।
सार्वजनिक सेवा प्रवेश गरेको अवधिमा आयव्यय विवरणमा विभिन्न मितिमा कुल जम्मा रकम १ करोड १० लाख ६७ हजार रुपैयाँ बराबरको स्रोत नपुगेको देखिएको आयोगको भनाई छ । निलम्बित नायब सुब्बा उपाध्यायले स्रोत नखुलेको सम्पत्ति श्रीमती जयादेवी उपाध्यायको नाममा समेत राखेको पाइएकोले उनको नाममा भएको सम्पत्ति बराबरको बिगो र जरिबाना जफतको दाबी समेत अख्तियारले गरेको छ ।



