images
images

सय वर्षीय पोखरेलको उम्मेदवारी : देश बचाउन, प्रजातन्त्र जोगाउन र हिन्दू राष्ट्र कायम गर्न


  • 345
    SHARES
  • २०७९ कार्तिक २२ गते मंगलबार

    सय वर्षीय पोखरेलको उम्मेदवारी : देश बचाउन, प्रजातन्त्र जोगाउन र हिन्दू राष्ट्र कायम गर्न

    काठमाडौ‌ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सबैभन्दा जेठा उम्मेदवार टीकादत्त पोखरेले देश बचाउन, प्रजातन्त्र जोगाउन र हिन्दू राष्ट्र कायम गर्न आफूले उम्मेदवारी दिएको बताएका छन् । 

    गत कात्तिक १४ गते १०० वर्ष पुगेका गोरखा सिरानचोक गाउँपालिका– नंं २  निवासी पोखरेलले रासससँगको सङ्क्षिप्त कुराकानीमा न्याय प्राप्तिका लागि पर्याय बनेको गोरखाली जनताको साथ सहयोग पाई अत्यधिक मतका साथ आफूले चुनाव जित्ने विश्वास व्यक्त गरे । 

    गोरखाको माटोमा जन्मेहुर्केको गोरखालीले मात्र समग्र गोरखालीको भलो गर्ने र गोरखाको इतिहास जोगाउन सक्ने धारणा व्यक्त गर्दै उनले भने, “नेपाल एकीकरणको नेतृत्व गर्ने वीर गोरखालीको पहिचान बोकेको गोरखाली मतदाताले एक सय वर्ष उमेर नाघेको प्रजातन्त्रवादी एवं सबैभन्दा पाको उम्मेदवारका रूपमा मलाई भोट दिई फेरी अर्को इतिहास रच्नेछन् र मुलुकको संसदीय इतिहासमा ज्येष्ठ सदस्यका रूपमा मेरो नाम अङ्कित हुनेछ ।” 

    देश र प्रजातन्त्र जोगाउन तथा नेपालीका छोराछोरीले नेपालमै रहेर काम गरी खानपाउने व्यवस्थाका लागि आफूले प्रतिनिधिसभा सदस्यका लागि जन्म एवं कर्मथलो गोरखाबाट उम्मेदवारी दिएको स्पष्ट गर्दै उनले गोरखाली हावापानीमा भिजेको र समग्र ढुङ्गामाटोले चिनेको गोरखाली धर्तीपुत्र एवं सबैभन्दा ज्येष्ठ उम्मेदवारलाई जिताउनु पर्दछ भनी गोरखाली जनता अहिले घरदैलो अभियानमा जुटिरहेकाले आफ्नो जीत सुनिश्चित रहेको बताए ।
     
    उनले देश कोही व्यक्ति विशेषको पेवा नभएको उल्लेख गर्दै गठबन्धनका नाममा गोरखाबाट उम्मेदवारी दिएका उम्मेदवारले गोरखा र गोरखाली जनताका पक्षमा के कति काम गरेका छन्, त्यसको लेखाजोखा मिहिन ढङ्गबाट गरी सचेत गोरखाली जनताले आगामी मङ्सिर ४ गते फैसला गर्ने विश्वास व्यक्त गरे । 

    जहाँनिया राणा शासन विरुद्धको आन्दोलनमा होमिँदा २००७ सालअघि वीरगञ्ज र भारतको रक्सौलमा पटकपटक जेल परेको र पञ्चायती शासन व्यवस्थाको विरोध गर्दा गोरखा र लमजुङमा करिब छ वर्ष जेल जीवन बिताएको स्मरण गर्दै प्रजातन्त्र सेनानी पोखरेलले समुन्नत राष्ट्र, सुदृढ प्रजातन्त्र र हिन्दू राष्ट्र नेपालका पक्षमा आफ्नो उम्मेदवारी रहेको स्पष्ट गरे । 

    नेपाली कांग्रेस (बीपी) को तर्फबाट गोरखा निर्वाचन क्षेत्र नं २ बाट उम्मेदवारी दिनुभएका एकसय वर्षीय उम्मेदवार पोखरेलको चुनाव चिह्न ‘कलश’ रहेको छ । सो निर्वाचन क्षेत्रमा गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का तर्फबाट अब्दुस मियाँलगायत ११ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । 


    images
    images

    Logo