काठमाडौं । नोभेम्बर २० देखि डिसेम्बर १८ सम्मको खेल हेर्न १२ लाख दर्शकहरू कतार पुग्दैछन्। । विश्वकप सुरु हुन १३ दिन बाँकी रहेको छ । जसमा विश्वकपका लागि संसारभरका उत्कृष्ट ३२ टिमबीच प्रतिस्पर्धा हुनेछ ।
नेपाल भन्दा कतारको समय २ घण्टा ४५ मिनेट ढिला रहेको छ भने विश्वकपअन्तर्गत दिनको पहिलो खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ । त्यस्तै, ६ः४५, ८ः४५ , ९ः४५ र राति १२ः४५ गरी फरक फरक समयमा खेल सञ्चालन हुनेभएको छ ।
प्रतिस्पर्धाका लागि ३२ टोली छानिएका छन्। लीग खेल प्रत्येक समूहका चारचार टोलीबीच हुनेछ। विश्वकपमा सहभागी हुने ३२ राष्ट्रमा युरोपका १३ देश छन्।
कति महँगो हुनेछ कतार बसाइ ?
दर्शकहरूलाई रहनका निम्ति एपार्टमेन्ट, होटल कोठा, मरुभूमिमा क्याम्पिङ्, भिला, दर्शक ग्रामका साथै तटमा राखिएका क्रुज पानीजहाजजस्ता सुविधा उपलब्ध छन्।
आयोजकहरूले ३० हजार अतिरिक्त कोठा उपलब्ध गराएका छन्। जसमध्ये दर्शक ग्राममा ठूला पाल तथा क्याबिनहरूमा ९ हजार शैय्या अनि एपार्टमेन्ट र भिलाहरूमा ६० हजार शयनकक्ष पर्छन्। साथै होटलमा ५० हजार कोठा र क्रुज पानीजहाजमा चार हजार कोठा पनि पर्छन्।
दोहा सहरको बाहिर मरुभूमिमा बनाइएका दर्शक ग्राममा निर्माण गरिएका अस्थायी क्याबीनहरूले मिडियाको ध्यान तानेका छन्। तिनलाई सस्तो विकल्पको रूपमा प्रस्तुत गरिएको छ। तिनको मूल्य प्रति रात दुई व्यक्तिका निम्ति २ सय ७ अमेरिकी डलर राखिएको छ।
कतारको औपचारिक वेबसाइटमा एमएससी पोजिया नामक क्रुज पानीजहाजमा प्रति रात १ सय ७९ डलर पर्ने भनिएको छ तर कैयन् मितिका निम्ति एउटा डबल बेडको प्रति रातको मूल्य ४ सय ५० डलर रहेको छ।
सुरुका समूहगत खेलको टिकट गैर कतारीको निम्ति कम्तीमा ६० पाउन्ड छ भने फाइनल खेलको टिकट मूल्य ५ सय पाउन्ड छ।



