images
images

निर्वाचनको सन्देशबाहक बनी दिन कलाकारलाई प्रमुख आयुक्तको आग्रह


  • 330
    SHARES
  • २०७९ कार्तिक २१ गते सोमबार

    निर्वाचनको सन्देशबाहक बनी दिन कलाकारलाई प्रमुख आयुक्तको आग्रह

    काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहितरूपमा सम्पन्न गराउने वातावरण सिर्जनाका लागि अभियानकर्मीको भूमिका निर्वाह गरिदिन कलाकारहरूसँग आह्वान गरेका छन् ।

    निर्वाचनका सन्दर्भमा आयोगले कलाकारहरूसँग गरेको अन्तक्र्रियामा प्रमुख आयुक्त थपलियाले निर्वाचनको माहौल निर्माण र निर्वाचनपछि प्रतिस्पर्धीबीच आपसी द्वन्द्व र मनमुटावको साटो मित्रता र एकताको भावना कायम गराउन जीवनमा कहिल्यै पराजयको अनुभूति नगर्ने प्रतिभाका धनी कलाकारहरूले खेलेको भूमिका प्रभावकारी हुने बताएका हुन् । 

    उनले कलाकारहरूले आफ्ना सामाजिक सञ्जालबाट निर्वाचन र मतदाता शिक्षाका सन्देशहरू प्रवाह गरेर तथा मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिबाट टाढा रहेर मुलुक र लोकतन्त्र जोगाउने सङ्कल्प बोकेको निर्वाचन सफल बनाउन व्यावसायिक र रचनात्मक योगदान दिने अपेक्षा पनि व्यक्त गरे ।

    “निर्वाचनलाई दूषित पार्ने प्रचारको डर आयोगलाई छ । यसप्रति आयोग सजग छ”, ‘नो नट एगेन’ का सम्बन्धमा कलाकारले राखेको जिज्ञासामा प्रमुख आयुक्त थपलियाले भन्नुभयो, “लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रतासँग मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिलाई मिसाएर हेर्न हुँदैन भन्नेमा आयोग स्पष्ट छ ।

    त्यसैले लोकतन्त्रको सुन्दर तलाउमा दुष्प्रचारको ढुङ्गा नहानिदिनोस् । सभ्य भाषामा कसलाई मत दिने र नदिने भनेर खुलारूपमा भन्न सक्नुहुन्छ, अँध्यारो कुनामा बसेर लाञ्छित र गालीगलौज गरिरहनुपर्दैन भन्ने मात्रै आयोगको आग्रह हो ।”

    मतदातालाई प्रलोभन पारिने खतराका सन्दर्भमा उठेको सवालमा प्रमुख आयुक्त थपलियाले जनताको सार्वभौमसत्ता खरिद बिक्रीको विषय हुनै नसक्ने भन्दै निर्वाचनलाई व्यापार ठान्नेहरूले देशको समृद्धि गर्दैनन् भन्ने सन्देश पनि कलाकारहरूले लगिदिनुपर्छ भने ।


    images
    images

    Logo