काठमाडौं । खोसिएको प्रजातन्त्र र बहुदल प्राप्तिपश्चात २०४८ सालमा आमचुनाव भयो । नेपाली कांग्रेसप्रति लहर देखियो । तर, पूर्वी पहाडी जिल्ला तेह्रथुममा कांग्रेस पराजित भयो । नेकपा (एमाले)का उमेदवार विजय सुब्बा विजयी भए का थिए । ०५६ सालको निर्वाचनमा पनि कांग्रेसले बहुमत ल्यायो । पुनः तेह्रथुममा कांग्रेस निरीह बन्यो । कांग्रेसप्रति लहर उर्लंदा समेत जितेका सुब्बाले ०४८ र ०५६ पछि प्रत्यक्षतर्फ टिकट पाएनन् त्यसपछि उनले समानुपातिकतर्फबाट संविधानसभा सदस्य बनेका थिए ।
सुब्बा अहिले फेरि प्रत्यक्षतर्फबाट मैदानमा छन् । आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गर्दै छन् । उनको प्रतिस्पर्धीका रूपमा नेपाली कांग्रेसकी सीता गुरुङ रहेकी छिन् । टिकट पाएसँगै आफ्नो निर्वाचन क्षेत्र तेह्रथुम पुगेकी गुरुङ प्रचारप्रसारमा व्यस्त रहेकी बताइन् ।
४६ वर्षीया गुरुङलाई नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)को पनि साथ रहनेछ । एमालेबाट निर्वाचनमा होमिएका ६४ वर्षीय सुब्बालाई पनि जनता समाजवादी पार्टी (जसपा)लगायत दलको साथ धेरै महत्त्वपूर्ण छ । प्रदेश नम्बर–१ को पहाडी जिल्ला तेह्रथुम गुराँसको राजधानीका रूपमा परिचित छ । विगतमा तेह्रथुमलाई वामपन्थीहरूको किल्ला मानिन्थ्यो ।
२०१५ सालमा कांग्रेसका तेजमान तुम्बाहाम्फेले चुनाव जितेका थिए । त्यो जितलाई फर्काउन कांग्रेसलाई पाँच दशक अर्थात् ४९ वर्ष लागेको थियो । ०६४ मा तुलसी सुब्बाले कांग्रेस विरासत फर्काएका थिए । ०५६ मा राप्रपा छोडेर स्वतन्त्र उमेदवार बनेका तुलसीले १२ हजार मत ल्याएका थिए । त्यो निर्वाचनपश्चात् कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले उनलाई कांग्रेसमा भित्र्याए । उनैले ४९ वर्षपछि तेह्रथुममा कांग्रेसलाई जिताए । पहिलो संविधानसभा निर्वाचनमा तेह्रथुमबाट कांग्रेसका तुलसी प्रत्यक्ष र सीता गुरुङ समानुपातिकमार्फत सांसद भएका थिए ।
विद्यार्थी राजनीतिबाट उदाएकी सीता दुवैपटक संविधानसभा सदस्य बेकी थिइन् । उनीले २०६४ मा गुमाएको जिल्ला एमालेले २०७० मा फर्काउँदा पनि उनको संसद् भवनको यात्रा रोकिएनको थिएनन् । २०६४ को हारको बदला लिँदै २०७० मा एमालेका भवानी खापुङले चुनाव जिते । त्यतिबेला गुरुङ कांग्रेसबाट समानुपातिकमार्फत सांसद बनेकी थिइन् ।
२०७४ मा पनि खापुङले जितेका थिए । त्यसबेला एमालेले माओवादी केन्द्रसँग तालमेल गरेको थियो । कांग्रेसले त्यति बेला सीतालाई प्रत्यक्षतर्फको उम्मेदवार बनायो । तर, उनी पराजित भइन् । खसेको ४४ हजार २ सय १ मध्ये खापुङले ५०.४४ प्रतिशत अर्थात् २१ हजार ३ सय ३५ मत ल्याएका थिए । पराजित गुरुङले ४५.६६ अर्थात् १९ हजार ३ सय १४ मत पाएकी थिइन् । ०७४ मा एमालेका विजयी सुब्बा समानुपातिकतर्फबाट सांसद बने ।
समीकरणमा गठबन्धन अगाडि
२०७४ को निर्वाचनमा यहाँ कुल मतदाताको संख्या ६६ हजार ६ सय ६७ रहेको थियो । अहिले त्यो संख्या बढेर ७१ हजार ९ सय ३३ पुगेको छ । चुनावी समीकरण पनि २०७४ को जस्तो छैन । एमाले–माओवादीबीच तालमेल छैन । दुईपटक निर्वाचन जितेका खापुङ अहिले नेकपा (एकीकृत समाजवादी)मा छन् । जिल्ला राजनीतिमा पनि उनलाई कमजोर मानिन्छ ।
गएको स्थानीय तह निर्वाचनमा ६ मध्ये तीन पालिका कांग्रेसले जित्यो । कांग्रेस त्यस्तै वर्चस्व आसन्न निर्वाचनमा कायम गर्न चाहन्छ । ०७४ मा पाँच स्थानीय तह जितेको एमाले विभाजनको संकट र सत्ता गठबन्धनका कारण अहिले तीन स्थानीय तहमा खुम्चिएको छ ।
“एमाले पटक–पटक जित्दा जनताले कति विकासको अनुभूति गरे, त्यो देखिएको विषय हो । जनताको दुःख र विकास निर्माणको कार्यमा एमाले चुक्यो । वाम गठबन्धन भनेर भोट मागियो, तर जनतलाई पानी समेत खुवाउन सकेनन्,” कांग्रेस उमेदवार गुरुङले बाह्रखरीसँग भनिन्, “अघिल्लोपटक ठूलो मार्जिनले चुनाव हारेको होइन । यसपटक त गठबन्धन पनि छ । त्यसमा पनि जनताको उत्साह छ । जनताले माया, सद्भाव दिनुभएको छ । म चुनाव जित्नेमा ढुक्क छु ।”
गएको स्थानीय तह निर्वाचनमा वडाध्यक्षका उमेदवारहरूले पाएको मतका आधारमा यहाँ गठबन्धन बलियो देखिन्छ । त्यति बेला एमालेका वडाध्यक्षका उमेदवारहरूले २२ हजार ३ सय १८ मत पाएका थिए । कांग्रेसका वडाध्यक्षका उमेदवारहरूले २३ हजार ६७ सय ७ मत ल्याएका थिए । माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत दलका वडाध्यक्षका उमेदवारहरूले दुई हजारको हाराहारीमा मत पाएका थिए ।
पार्टी विभाजनको असर, खापुङको बहिर्गमन तथा टिकट वितरणमा असन्तुष्टि देखिएकाले एमालेभित्र भय छ । सुब्बा आफैँ पनि ०६९ मा एमाले छोडेर अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीमा लागेका थिए । उनी ०७१ मा एमालेमा फर्किएका हुन् । त्यसपछि नेता सुवास नेम्वाङको निकट हुँदै पार्टी अध्यक्ष केपी शर्मा ओलीको विश्वासपात्र बन्न पुगे । उनै उमेदवार सुब्बा अहिले विजयी हुनेमा विश्वस्त छन् ।
“चुनाव मैले नै जित्ने हो । मतदाताको प्रतिक्रिया राम्रो छ । जित्ने आधारहरू प्रशस्त छन् । पार्टीभित्र एकमना र एकताको विकास हुँदै छ । पार्टी सचेत भयो भने जित सुनश्चित छ,” सुब्बाले बाह्रखरीसँग भने, “गठबन्धन आफैँमा कमजोर छ । नेकपा (माओवादी केन्द्र) र नेकपा (एस)को संख्या सानो छ । गठबन्धनमा मतदाता सन्तुष्ट छैनन् । त्यसैले निर्वाचन जित्न सहज छ ।”



