काठमाडौं । नेपाल आयल निगमले कुल १ करोड ८२ लाख लिटर पेट्रोलियम (जिडेल र पेट्रोल) भण्डार गर्ने ४ वटा ट्यांक बनाउने भएको छ । २ वटा निगम आफैंले बनाउने छ ।
२ वटा बनाउने जिम्मा भारतिय आयल निगम ९आइओसी०लाई दिइएको निगमको प्रादेशीक कार्यालय अमलेखगञ्जका प्रमुख प्रदीप यादवले बताए । ‘हामीले ५०–५० लाख लिटर क्षमताका पेट्रोल र डिजेल ट्यांक बनाउने हो । ठेकेदारले १५ दिनमा यसको काम सुरु गर्छ,’ उनले भने, ‘आइओसीले गर्ने काम भने बैंक ग्यारेन्टी दिन नसक्दा अघि बढ्न सकेको छैन ।’
निगमले ७० करोड रुपैयाँ लागतमा बनाउन लागेको हो । आइओसीले ४१ लाख किलोलिटर क्षमताका २ वटा पेट्रोल ट्यांक, ल्याब र ट्यांकर लोड गर्ने ठाउँ बनाउने छ । त्यसका लागि निगमले आर्इओसीलाई १ सय ५४ करोड भारतिय रुपैयाँ दिनुपर्ने छ । ‘चाडबाड र अन्य प्राविधिक कारणले बैंक ग्यारेन्टी दिन केही ढिलो भएको हो,’ प्रमुख यादवले भने, ‘अबको १० दिनमा आर्इओसीलाई ११ करोड बैंक ग्यारेन्टी जम्मा गरिदिन्छौं । त्यसपछि काम सुरु हुन्छ ।’
यी ट्यांक बाराको अमलेखगञ्जमा बन्नेछन् । २०२४ जनवरीसम्ममा ट्यांक निर्माण सकेर पाइपलाइनबाट पेट्रोल ल्याउन थाल्ने निगमको योजना छ । हाल अमलेखगञ्जमा भण्डारणगृह नहुँदा पाइपलाइनबाट पेट्रोल आयात भएको छैन । डिजेल मात्र आयात भइरहेको छ ।
निगमले पेट्रोल ट्यांकरबाट ल्याइरहेको छ । भारतको मोतिहारी–अमलेखगञ्जसम्म ६९ किलोमिटर पाइपलाइन २०७६ भदौदेखि सञ्चालनमा आएको हो । त्यसपछि एउटै पाइपबाट पेट्रोल, डिजेल र मट्टितेल ल्याउन मिल्ने यादवले बताए । अहिले २ हजार ट्यांकरले भारतको बरौनी गएर पेट्रोल ल्याउने गरेका छन् । ‘भण्डारणगृह (ट्यांक) बाट पेट्रोल आउन थालेपछि निगमको मासिक १५ करोड रुपैयाँ बचत हुन्छ,’ यादवले भने ।
ट्यांकरबाट ल्याउँदा ढुवानी भाडा प्रतिलिटर ३ रुपैयाँ र ५० पैसा प्राविधिक नोक्सान हुने गरेको छ । ‘तेल भर्नका लागि अमलेखगञ्जदेखि बरौलीसम्म ट्यांकरले २ सय ५० किलोमिटर गुड्नुपर्छ । त्यसबाहेक भारतको राज्य सरकारले लिने कर, टोल कर तथा खाना तथा खाजा खर्चका कारण प्रतिट्यांकर करिब ५० हजार रुपैयाँ लागत लाग्ने गरेको छ,’ प्रादेशिक प्रमुख यादव भन्छन्, ‘त्यसैले पाइपबाट ल्याउँदा सस्तो पर्छ ।’
यी दोस्रो चरणअन्तर्गतका काम भएको उनले बताए । यो काम सकिएपछि ल्याबमा डिजेल र पेट्रोलको गुणस्तर परीक्षण गर्न सकिने छ । आधुनिक प्रविधिको लोडिङ फिलिङ सेटबाट एकसाथ २४ वटा ट्यांकरको तेल स्वचालित रूपमा लोड अनलोड हुन्छ । हाल नेपालमा यस्तो प्रणाली छैन ।
पाइपलाइनबाट प्रतिघण्टा २५० किलोलिटरका दरले डिजेल आउने गरेको छ । अमलेखगञ्जमा हाल १९ हजार किलोलिटर क्षमताको डिजेल र २ हजार किलोलिटर क्षमताको पेट्रोल भण्डारणगृह छन् ।
ग्याँस पनि पाइपलाइनबाटै
आइओसीले निगमलाई एलपी ग्याँस पनि पाइपलाइनबाटै ल्याउन प्रस्ताव गरेको थियो । पाइपबाट ग्याँस ल्याउँदा ढुवानी खर्च घट्ने र सहज हुने निगमले जनाएको छ । ‘भारतले यसका लागि पनि ताकेता गरेको ६ महिना भइसक्यो । यताबाट ठोस प्रगती भएको छैन,’ यादवले भने । हाल नेपालमा हरेक महिना ५० हजार मेट्रिक टन एलपी ग्याँस आउने गरेको छ ।
त्यसका लागि निगमले आईओसीलाई हरेक महिना ५० करोड रुपैयाँ ढुवानी भाडा तिर्दै आएको छ । पाइपबाट ल्याउदा वार्षिक ४ अर्ब ढुवानी खर्च बच्ने निगमको भनाइ छ ।



